भक्तपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न आफूहरु अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताए ।
सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने भन्दै उनले गठबन्धनमा केही गल्ती भए सच्याएर अघि बढ्नुपर्ने तर स्थिरता कायम गर्नुपर्ने बताए ।
रफ्त सञ्चार क्लवले शनिबार भक्तपुरमा गरेको एक कार्यक्रममा उनले यसो भनेका हुन् । ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन । र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो । गल्ती कहाँ छ त्यहाँ सच्याएर अघि बढने बेला हो ।’ यादवले थप भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग पर्याप्त बहुमत रहेको उनले बताए । उनले भने, ‘सरकार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन । अहिले पनि कम्फरटेबल मेजरिटीको सरकार छ । ५ दलीय गठबन्धनको सरकार हो । र, गठबन्धनसँग पर्याप्त मत छ ।’