काठमाडौं । दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी पुरा गरेर घर फिर्ता भएकी विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा शुरु भएको छ । राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा रहेकी उनलाई सक्रिय राजनीतिमा आउन एमाले निकटहरुले नै हौसाइरहेको बुझिएको छ ।
राष्ट्रपतिको भूमिका रहँदापनि भण्डारीले एमालेमा एउटा शक्तिशाली गुटको नेतृत्व गरेको आरोप थियो । अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीलाई पार्टीमा सक्रिय हुन आग्रह गरिसकेको स्रोतको दाबी छ । उनलाई ओलीको कार्यकाल सकिएपछि अध्यक्ष बनाउनुपर्ने प्रस्ताव पनि आउन थालेको एमाले कार्यकर्ताहरु बताउने गरेका छन् ।
यता, एमालेले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष बनाउनेगरि गृहकार्य थालेको बुझिएको छ। यसको लागि भण्डारीले भने अहिलेसम्म कुनै ठोस जवाफ दिएकी छैनन् । कतिपयले भने उनलाई एमालेको राजनीतिमा सक्रिय हुँदै संसद्को यही कार्यकालको लागि यात्रा तय गर्न र मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्न पनि सुझाव दिएका छन् ।
नेपालको पहिलो महिला राष्ट्रपति बनेर किर्तीमानी कायम गरेकी भण्डारीलाई एमाले नेताहरुले अब मुलुककै पहिलो महिला प्रधानमन्त्री बनाउनेगरि गृहकार्य थालेको चर्चा छ । कतिपयले त उनलाई आगामी बैशाख २ गते चितवन–२ मा हुने उपनिर्वाचनमा भाग लिन पनि प्रस्ताव गरेको बुझिएको छ । खासगरी एमालेका महिला नेतृहरुले पनि भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा सहभागी हुन जोड गरेका छन् ।
उनी सक्रिय राजनीतिमा आउँछिन कि आउँदिनन् भन्ने कुरा भोलिको दिनले प्रष्ट नै पार्ला । तर, उनलाई सक्रिय राजनीतिमा आउन भने एमालेको ठूलो पँक्तिले दबाब सिर्जना गरेको र कतिपय नेताहरुले भने सार्वजनिक रुपमै भण्डारी सक्रिय राजनीतिमा आउने दाबी गरिरहेका छन् ।