काठमाडौं । नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्बाङ मनोनित भएका छन् । संसदीय दलको नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेम्बाङलाई सोमबार उपनेतामा मनोनित गरेका हुन् ।
इलाम २ बाट विजयी नेम्बाङ एमालेका उपाध्यक्षसमेत हुन् । २०७४ सालको चुनावपछि पनि उनी नै एमाले संसदीय दलको उपनेता बनेका थिए ।
२०५१ सालमा न्याय, कानून तथा संसदीय व्यवस्थामन्त्री भएका नेम्बाङ २०६३ मा पुनर्स्थापित प्रतिनिधिसभाको सभामुख र पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष रहेका थिए । गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा भने नेम्बाङ काँग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।




