काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा सुवास नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।
उनले शनिबार नेम्वाङलाई समर्थन गर्न आग्रह गर्दै अध्यक्ष नेपाललाई पत्र समेत लेखेका हुन् । सोही पत्रमा आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार हुनुभएका नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरिएको छ ।
पार्टीका उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिए लगत्तै एमाले अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई औपचारिक रूपमा पत्र पठाएका हुन् । ‘राष्ट्रिय सभा, प्रतिनिधि सभा, र प्रदेश सभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले नेपाललाई लेखेको पत्रमा भनिएको छ ।
शनिबार बिहान बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपति पदमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेले आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सबै दललाई पत्राचार गर्ने निर्णय पनि गरेको थियो ।