काठमाडौं । एमालेमा राष्ट्रपतिका आंकाक्षीको संख्या निरन्तर बढ्न थालेको छ । अहिलेसम्म सुवास नेम्वाङ, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहराको नाम अगाडि आएको छ । आकांक्षीले अध्यक्ष केपी ओलीसँग छलफल र ताकेता बढाएपनि ओलीले कुनै संकेत गरेका छैनन् । राष्ट्रपतिका विषयमा ओली मौन छन् ।
एमाले स्रोतका अनुसार, अध्यक्ष ओलीले अहिले राष्ट्रपतिका लागि के सोचिरहेका छन् भन्ने नै प्रष्ट देखिएको छैन । कसलाई राष्ट्रपति बनाउन सकिन्छ भन्नेमा अध्यक्ष ओलीले नेताहरुसँग सामान्य छलफलसमेत गरेका छैनन ।
पुस १९ गते मंगलवार विहान अध्यक्ष ओलीले सुवास नेम्वाङ, ईश्वर पोखरेललगायतका केही नेताहरुसँग छलफल गरेका थिए । छलफलमा गएका नेताहरुले आफ्नो चाहना संकेत गरेको भएपनि उनी मौन रहे ।
राष्ट्रपतिको चाहनामा झलनाथ खनालदेखि माधव नेपालसम्म रहेका थिए । सत्ता समीकरण विग्रिएपछि उनीहरुको चाहनामा भने तुषारापात भएको छ ।
हुन त, एकीकृत समाजवादीलाई पार्टीमा भित्र्याएर माधव नेपाललाई राष्ट्रपतिमा पठाउन सकिने चर्चामा पनि एमालेभित्र रहेको छ तर, अध्यक्ष ओलीलगायत नेता तथा कार्यकर्ताहरू त्यसमा सहमत नभएको पनि स्रोत बताउछ ।
एमाले सिध्याउन कांग्रेससँग गठबन्धन गर्न पुगेका माधव नेपाललाई भित्र्याएमा ठुलो विद्रोह हुने एमालेका नेता कार्यकर्ताहरू बताउछन् । कुनै सर्त नराखी खुरूखुरू एमालेमा आउनेका लागि ढोका खुला रहेको बताउँछन् । साँघुले समाचार लेखेको छ ।