November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जेलमा बस्दा महाकाव्य लेखेको केपी ओलीको दाबी

1.3K

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेल जीवनका बेला आफूले थुप्रै साहित्यिक रचना लेखेको बताएका छन् । पोखराको फेवा किनारस्थित बाराहीघाटमा जारी नेपाल लिटरेचर फेस्टिभलको राजनीति बाहिरका कुरासम्बन्धी सेसनमा पत्रकार अखण्ड भण्डारीसँग बोल्दै अध्यक्ष ओलीले लेख्ने र लेखेकै ठाउँमा छाडेर हिँड्ने बानीका कारण आफ्ना कैयौं रचना अलपत्र परेका बताए ।

कविता, निबन्ध लगायत साहित्य रचना गरेपनि जेलभित्र लेख्ने कलम र कागज नहुँदा झेल्नुपरेका कैयौं क्षणको उनले स्मरण गरे । खर्पन शीर्षकको कविता आफूले ०४१ सालमा पोखरा जेलमा बस्दा लेखेको अध्यक्ष ओलीले सुनाए ।

खर्पन शीर्षकको कविता कसरी लेख्नुभयो भन्ने प्रश्नमा उनले भने,‘खर्पन कविता पोखरा जेलमा हुँदा लेखेको हूँ, जेलको गेटमा खर्पनमा साग लगायत तरकारी बोकेको देखेँ त्यसपछि आफूलाई ती खर्पन बोक्नेसँग तुलना गरेर कविता लेखेँ ।’

Advertisement

पोखरा जेलमा बस्दा आफूले कपडा बुन्न सिकेको समेत उनले बताए । ‘मलाई बत्ती कात्न, टपरी गाँस्न र गुन्द्री बुन्न आउँछ, म जे काम पनि सिक्ने मान्छे, पोखरा जेलमा बस्दा कपडा बुन्न सिकेको थिएँ, लुगा बनाएर बाहिर रहेका दिदीबहिनीलाई पनि पठाउँथे, फुर्सद र समय भयो भने जहाँ जे मन लाग्छ त्यो काम गर्छु ।’

मौन अवधिमा धर्मपत्नी राधिका शाक्यसँग साग केलाएको किस्सामा उनले आफू हरेक काममा अघि सर्ने मानिस भएको बताए । दुर्गम गाउँमा जन्मेको र सानोमै आमा गुमाएकाले पनि हरेक कामसँग आफू जोडिएको अध्यक्ष ओलीले सुनाए । कुनै काम सानो हो भन्ने नलाग्ने भन्दै उनले फुर्सद र समय भए सबै काम गर्ने बताए । आफूलाई पकाउन भन्दा भाँडा माज्न सहज लाग्ने उनको भनाइ थियो ।

जेलमा बस्दा महाकाव्य लेखेको र त्यो पूरा हुन नसकेको अध्यक्ष ओलीले स्मरण गरे । उनले भने,‘मैले जेलमा बस्दा एउटा महाकाव्य १६ खण्डजति लेखेको थिएँ, अन्तिम अन्तिमतिर थियो, तर त्यसलाई लुटियो या हरायो, मैले ३ वर्षमा आमा गुमाएँ, त्यसैले आमासँग अलि धेरै आत्मियता छ, त्यस महाकाव्यको नाम आमा राख्ने मेरो सोँच थियो, लुटियो त्यसपछि त्यताको बाटो छोडेँ ।’ जेलमा हुँदा आफूले कैयौं पुस्तक पढेको बताउँदै उनले लेख्न र पढ्नमा निक्कै रुचि भएको तर दिनभर फुर्सद नहुने भएकाले राति मात्रै अध्ययन गर्ने गरेको सुनाए ।