March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

प्रधानमन्त्री बन्न प्रचण्डको गोप्य भेटघाटः बाहिर मौन, भित्रभित्रै बार्गेनिङ

1.5K

काठमाडौं । पाँच दलीय गठबन्धनबाट को प्रधानमन्त्री बन्ने भन्नेबारेमा व्यापक बहस भइरहेको छ । पहिलो र ठूलो दल बनेको नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफूले पाउनुपर्ने अडानमा छ । तर गठबन्धनभित्रको प्रमुख हिस्सेदार मानिएको माओवादी केन्द्रको स्पष्ट धारणा आइसकेको छैन । यद्यपी, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूले प्रधानमन्त्री पाउनुपर्ने पक्षमा छन् । तर सार्वजनिक रुपमा उनले दाबी गरिसकेका छैनन । जिम्मेवारी आए पछि नहट्ने बताएका छन् ।

प्रधानमन्त्री माओवादी केन्द्रबाटै हुनुपर्ने आवाज उठिरहेका बेला प्रचण्डले आफु प्रधानमन्त्रीका लागि सवै विषयमा दाउमा राख्ने पक्षमा नरहेको प्रष्ट पारेका छन् । सोमबार चितवनमामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताए । ‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन ।’

‘स्वभाविक रुपमा सवैसँग छलफल चलिरखेका छ । तर म प्रधानमन्त्रीका लागि सवै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले यसअघि धेरै नेताहरुलाई आफुले प्रधानमन्त्री बनाउन भुमिका खेलेको पनि स्मरण गराए । उनले एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको भन्दै अरुको पनि कुराकानी भइरहेको बताए । ‘यो स्वभाविक हो, कांग्रेस–एमालेको पनि कुरा भइरहेको छ । कुरा हुनेवित्तिकै टुंगोमा पुगेको भन्ने होइन’अध्यक्ष प्रचण्डको भनाइ छ । प्रचण्डले एमाले माओवादी पार्टी एकताका लागि बाहिर आएजसरी औपचारिक छलफल र कुराकानी पनि नभएको बताए ।

Advertisement

तर प्रचण्डका पछिल्ला दिनहरुमा भइरहेको भेटघाटले गठबन्धनभित्र चर्चा भइरहेको छ । कतिपय गोप्य भेटघाटले उनीमाथि शंका पनि जन्माएको छ । आइतबार बालुवाटारबाट फर्केका प्रचण्ड दिउँसो पुनः होटक याक एण्ड यति होटलमा पुगेका थिए । त्यहाँ उनले गोप्य भेटघाट गरेका थिए । होटलको २०१ नम्बर कोठामा पुगेका उनले त्यहाँ कोसँग कुराकानी गरे भन्ने बारेमा केही खुलेको छैन ।

उनी त्यहाँ १ घण्टा १५ मिनेट बसेका थिए । सवा घण्टासम्म उनले कोसँग कुराकानी गरेका थिए भन्ने बारेमा आफ्नै पार्टीका पदाधिकारी र सचिवालयलाई समेत जानकारी दिएका थिएनन् । उनी त्यहीँ रहेका बेला भारतीय दूतावासबाट रअका नेपाल प्रमुख राघवप्रसाद भाटनागर पनि बाहिर निस्केका थिए । तर उनीहरुबीच भेटघाट भए नभएको बारेमा स्रोतले कुनै पुष्टि गरेको छैन ।

यसैबीच, पछिल्लो पटक वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका वामदेव गौतमसहित नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले गोप्य छलफल गरेका छन् । केही समययता सक्रिय राजनीतिमा नदेखिएका गौतम भेटघाटका लागि एस पार्टीको कार्यालयमा पुगेका थिए ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र गौतमबीच छलफल भएको थियो । गठबन्धनबाट चुनाव लडेको नेपाली कांग्रेस माओवादी र एकीकृत समाजवादीलाई बाहिरै राखेर सरकारको नेतृत्व लिने तयारीमा लागेपछि वामखेमा पनि छुट्टै रणनीति बनाउन जुटेको हो ।

यसअघि माओवादी र समाजवादीका नेताहरुले विभिन्न तहमा नियमित कुराकानी गरिरहेका छन् भने एमालेका दोस्रो र तेस्रो तहका नेताहरु पनि संवादमा छन् । यही क्रममा माओवादीले समाजवादी केन्द्र स्थापनाको प्रस्ताव गरिसकेको छ । तर शनिबार मात्रै प्रचण्डले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटर आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।

यता, राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरिसकेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । राष्ट्रपतिको आब्हानपछि नेताहरुको भेटघाट बाक्लिएको हो । कांग्रेस सभापति देउवा संसदीय दलको नेता चयनपछि प्रधानमन्त्रीका बारेमा बोल्ने बताइरहेका छन् । उनी आफैं प्रधानमन्त्री बन्न कसरत गरिरहेका छन् । तर गठबन्धन कायम राख्न प्रचण्डलाई प्रधानमन्त्री दिएर आफू राष्ट्रपतिको भूमिका रहनसक्ने अडकलबाजी भइरहेको छ ।