लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) कार्यसमितिको दोश्रो बैठक सम्पन्न भएको छ । आइतबार फेल्थामस्थित केटीएम रक्समा बसेको वर्तमान कार्यसमितिको बैठकले समितिको रिक्त विभिन्न पदपूर्ति गरी समितिलाई पूर्णता दिएको हो ।
बैठकले जनसम्पर्क समिति बेलायतको मौजुदा विधान साथै नेपाली काँग्रेसको विधान तथा पार्टीको केन्द्रीय नियमावली धारा २१, उपधारा ७, घ बमोजिम बेलायतमा रहेका नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुमध्येबाट २० जनालाई नेपाली जनसम्पर्क समिति बेलायतको विभिन्न पदमा नियुक्त गरेको छ ।
गत २६ फेब्रुवरी २०२२ मा फेल्थाममा बसेको प्रथम बैठकले सभापति युवराज गुरुङलाई जिम्मेवारी प्रत्यायोजन गरेबमोजिम उपसभापतिमा इन्द्रमान गुरुङ र सहमहामन्त्रीमा क्षमता ढकाल, नारायण लामा, खड्ग चेम्जोङ र टपेन्द्र राईलाई नियुक्तिका लागि गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
त्यस्तै कार्यसमितिको मनोनित सदस्यहरुको रिक्त पदमा थर्क राज जिमी, प्रितम गुरुङ, असल लिम्बू, प्रदीप बान्तवा, हुद्धद राई, विनोद योन्जन, सुदेश राई, प्रमिला केसी, नेरन्द्र तुम्बापो, योगेन्द्र विक्रम तावा, ईश्वर गुरुङ, मन कुमार राई, शिव कुमार राई, ध्रुव गुरुङ र पूर्ण कुमार क्षेत्रीलाई नियुक्त गरी जनसम्पर्क समिति बेलायतको कार्यसमितिलाई पूर्णता दिइएको छ । नियुक्त भएका २० जनासहित अब नेपाली जनसम्पर्क समिति यूकेको केन्द्रीय कार्यसमितिको सदस्य संख्या ५० जना पुगेको छ ।
बैठकले जनसम्पर्क समिति बेलायतको विभिन्न विभाग गठन गर्ने क्रममा महामन्त्री रोमियन लिम्बूलाई महिला विभाग गठन गर्न संयोजक तोक्यो भने भविष्यको बैठकले अन्य विभागीय प्रमुखहरु तोक्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले जनसम्पर्क समिति बेलायतको विधानको धारा १६, ञ बमोजिम कार्य सम्पादन समिति गठन गर्ने जिम्मा र चालु कार्यकालको लगि सल्लाहकारहरुको नामावली प्रस्ताव गर्ने जिम्मेवारी सभापतिलाई दिएको छ ।
बैठकले सबैभन्दा महत्वपूर्ण निर्णय गत वर्ष समितिको पाँचौं अधिवेशनले चक्रीय प्रणालीको आधारमा चार जनाले एक–एक वर्ष नेतृत्व गर्ने निर्णय खारेज गरेको छ ।
बैठकमा पूर्व सभापतिहरु महेशकुमार दाहाल र युवराज सिंहसमेत उपस्थित थिए । उक्त बैठकले नेपाली काँग्रेसको कुनै पनि तहको विधिविधानमा आजसम्म चक्रीय प्रणालीको व्यवस्था र अभ्यास नभएको र नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यसमितिबाट समेत उक्त निर्णय खारेज गर्न निर्देशन प्राप्त हुँदा बैठकले उक्त निर्णय खारेज भएको जनाइएको छ ।
बैठकको निर्णय अनुसार अब बाँकी कार्यावधि वर्तमान सभापति युवराज गुरुङले नै गर्ने भन्ने सहमति भएपनि आज बैठकमा अनुपस्थित पूर्व उपसभापति कोपिला लिम्बूलाई पनि सहमति गराएर पार्टीको मूल धारमा ल्याउन युवराज गुरुङ, महेश दाहाल र युवराज सिंह तीनै जनाले प्रयास गर्ने प्रतिवद्दता जाहेर गरेका छन् ।