काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा ओलीले पार्टीको इज्जतका लागि पनि राप्रपा अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने बताएका हुन् ।
ओलीले भने, ‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ । हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो ।’ उनले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने ओलीले दाबी गरे ।
एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बताए । ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ’ उनले भने ‘जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’
यस्तै, अध्यक्ष ओलीले नेपाली काँग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने बताए । उनले भने, ‘काँग्रेस राष्ट्रिय पार्टी रहने भयो, यसपल्टको हकमा माओवादी पनि राष्ट्रिय पार्टी बन्छ । माधव नेपालहरुले पनि एउटा पार्टी खोलेका छन्, त्यसको कन्तबिजोग हुन्छ, के को राष्ट्रिय पार्टी ?’
लोकतान्त्रिक समाजवादी पार्टी पनि यसपटक राष्ट्रिय पार्टी नबने ओलीले बताए । ओलीले एमाले एक्लैले बहुमत ल्याउने दावी गरे ।




