April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

आक्रमक प्रचारमा उत्रिएकी रेखा थापा भन्छिन्: कलाकारिता गरेर कमाएको इज्जत लिलामी गर्न आएको होइन

1.4K

मोरङ । शनिवार बिहानैदेखि टण्टलापुर घाम लागिरहेको थियो। तीनै घाम प्रचण्ड गर्मीको बिचमा मोरङ क्षेत्र–३ अन्तर्गत कानेपोखरीको बरगाछी, त्रिवेणीचोक, बयरबन बजार लगायतका स्थानमा नायिका तथा राप्रपा नेतृ रेखा थापाको ब्यग्र प्रतिक्षामा थिए,स्थानीय। रेखा मोरङ ३ नम्बर क्षेत्रबाट राप्रपाबाट प्रतिनिधी सभा उम्मेदवार हुन्।

पर्दामा मात्र देखिएकी नायिका रेखा प्रत्यक्ष भेटघाट गर्न सबैजना आतुर थिए। यत्तिकैमा रातो रङको कारमा सवार नायिका थापा बरगाछी चौक आइपुगिन्। सबैमा खुशीको सीमा रहेन। सँगसँगै आक्रोश पनि। आक्रोश यसकारण थियो की २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् पटकपटक भएका आम निर्वाचनमा सुकुम्वासी समस्या समधान गर्ने झुटो आश्वासन दिएर केही नेताले त्यस क्षेत्रको मत प्राप्त गरी चुनाव जिते। सांसद बने। मन्त्री बने। तर गाउँ फर्केनन्। समस्या ज्यूँका त्यूँ छन्।

भूमिसम्बन्धी जटिल समस्याबाट ग्रसित किरात चोकका वासिन्दा प्रमुख राजनीतिक दलका नेताहरूबाट आजित भएका कारण उनीहरूले सुरूमा रेखा थापा त्यहाँ पुग्दा एकहोरो प्रश्नहरू तेर्स्याइ रहे। हामीले धेरैपटक नेताहरूलाई भोट दिएर जितायौं, तर केहीपनि गरेनन, हाम्रो जग्गाको समस्या जस्ताको त्यस्तै छ’, स्थानीय शुशीला रिमालले नायिका थापासँग प्रश्न गरिन्, ‘कतै तपाई पनि त्यसरी नै भोट मात्र माग्न आउनुभएको त होइन ?’

Advertisement

प्रत्युत्तरमा नायिका थापाले कलाकारिता गरेर कमाएको इज्जत लिलामी गर्न आफू यहाँ नआएको स्पष्ट पार्दै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन्। ‘यहाँको समस्या तपाईहरूको मात्र होइन, मेरो आफ्नै समस्या हो’, उनले भनिन्, ‘यदी मलाई मत दिएर संसद पठाउनु भयो भने यहाँको आवाज बुलन्द गर्ने छु, नत्र तपाईहरूलाई नै लिएर सिंहदरबार जानेछु।’

विगतमा पनि आफूले भूमि सुधार मन्त्रालय गएर सुकुम्वासी समस्या समधानका लागि आवाज उठाएको जानकारी दिँदै नायिका थापाले नीति निर्माण तहमा पुगेर आधिकारिकरूपमा भूमिसम्बन्धी तड्कारो समस्या समधानका लागि पहल गर्ने बताइन्।’ नायिका थापाले त्यहाँका बासिन्दालाई आफ्नो सपना बन्दकी नराख्न आग्रह गरेकी छन्। ‘उम्मेदवारको पृष्ठभूमी हेरेर मतदान गर्नुहोस्। युवालाई मतदान गर्नुहोस्। तर आफ्नो सपना बन्दकी नराख्नुहोस्’, उनले भनिन्।

त्यहाँ उपस्थित जनसमुदायले नायिका थापासँग चलचित्रमा देखाएको सकरात्मक भूमिका रियल लाइफमा पनि देखाउन आग्रह गरेका छन्। त्यसमा सहमती जनाउँदै नायिका थापाले आफूले चुनाव जितेमा जनताको पिरमर्का र समस्यालाई सम्बोधन गर्न तयार रहेको बताइन्।

अधिकांश स्थानीय वासिन्दाले यसपटक युवा उम्मेदवारलाई मतदान गर्ने राय व्यक्त गरेका छन्। ‘२०३६ सालदेखिको भूमिसम्बन्धी समस्यालाई एजेण्डा बनाएर चुनावमा धेरैजना आए। चुनाव जिते। तर केही पनि गरेनन्’, कानेपोखरी बयोबृद्ध भरत राईले भने,अब यसपटक नयाँ उम्मेदवारका लागि हामी सबैले अभियान नै चलाउनुपर्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले आफू राजनीति गर्न गाउँ नआएको तर काम गर्न आएको प्रष्ट पारिन्। आफूले चुनाव जितेमा जनताको अभिमतलाई खेर जान नदिने उनले बताइन्। आगामी मंसिर ४ गते हुने निर्वाचनमा राप्रपाले मोरङ क्षेत्र–३ बाट संघीय संसदको उम्मेदवार बनाउने निश्चित् भएपछि नायिका थापाले व्यक्तिगत भेटघाट तीब्र पारेकी छन्।

यसअघि थापा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने कानेपोखरी, बेलबारी र सुन्दरहँरैचाका ग्रामीण वस्तीहरू गएर त्यसक्षेत्रका स्थानीयसँग भेटघाट गरी समस्या र गुनासो सुनिरहँदै काम गर्ने प्रतिवद्धता ब्यक्त गरिन्। मोरङ–३ मै पर्ने सुन्दरहरैंचा नगरपालिकाको सलकपुर घर भएकी थापा घरदैलोमा जादा आफू नेता नभइ छोरी, दिदीबहिनीका रुपमा प्रस्तुत गर्छिन् । घरदैलोमा उनीसँग फोटो खिच्ने र बोल्न चाहनाको भिड लाग्छ ।

हामीले विगतमा अरू पार्टीका उम्मेदवारलाई भोट दियौं, तर केहीपनि गरेन’, कानेपोखरी–५ का कुल्दन यादवले भने, ‘यसवर्ष हामी रेखा थापालाई भोट दिन्छौं।’ धर्म र संस्कृतिको रक्षाका लागि समेत यसवर्ष राप्रपालाई भोट दिने उनको भनाई थियो। थापाले नेपाली जनताले सही नेता छान्न सकेमा मात्र देशको हित हुने राय व्यक्त गरिन्।

देश बिग्रेमा सारा नेपाली जनताले दुःख पाउने बताउँदै थापाले अबको निर्वाचनमा स्वच्छ छवी भएका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन्। ‘म नेता बन्न आएकी होइन, सेवाको भाव लिएर आएकी हुँ’, थापाले भनिन्, ‘त्यसैले अव तपाईहरू सही नेता छान्नुहोस्, त्यो तपाईहरूको अधिकार हो।’(स्थानीय संचारकर्मी तेजन खड्काको सहयोगमा)