April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

ओलीको असंवैधानिक काम तथा कदमको विरोध गर्दा टिकट दिइएन : भीम रावल

1.4K

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक काम तथा कदमको विरोध गर्दा टिकट नपाएको बताएका छन् ।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले भने’ पार्टी अध्यक्षले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको मैले विरोध गरेँ, जसकारण जिल्लाबाट सिफारिस हुँदा पनि केन्द्रले मलाई प्रतिनिधिसभा निर्वाचनको लागि टिकट दिइएन।’

‘मलाई कसरी रोक्न सकिन्छ भनेर छलफल गरेका सूचनाहरु आई नै रहेका थिए । मलाई हराउन सकिँदैन भन्ने भएपछि उम्मेदवारी रोकियो । मेरो उम्मेदवारी रोकिँदा जनता र कार्यकर्तामा उत्पन्न हुने प्रतिक्रियाका कारण सिफारिस नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइयो’ रावलले भने, ‘यस्तो गर्नु कार्यकर्ता र जनताको भावनालाई कुल्चनु हो । यस्तो कार्य गर्नु स्वेच्छाचारी निन्दनीय कार्य हो,’ उनले भने ।

Advertisement

उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए ।