November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

सिट बाँडफाँट टुङ्गिएको समाचारप्रति नेताहरुको चासो, औपचारिक निर्णय नभएको दाबी

1.8K

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट टुंग्याउन समय लाग्ने भएको छ । यस विषयमा औपचारिकरुपमा कुनै सहमति जुटिसकेको छैन । गठबन्धनभित्र कुन दलले कति सिट हो भन्ने विषयमा पनि औपचारिक निर्णय नभएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

सञ्चारमाध्यममा सिट बाँडफाँट सम्बन्धमा आइरहेको चर्चाप्रति नेताहरुले आपत्ति जनाएका छन् । आ–आफ्नो दृष्टिकोणबाट समाचार सम्प्रेषण भइरहेको नेताहरुको भनाइ छ ।

‘औपचारिकरुपमा निर्णय भएर आएको छैन । छिट्टै टुङ्ग्याउनुपर्ने हो । तर, अब अहिलेसम्म टुङ्गेको छैन । छिट्टै टुङ्गो लाग्ला भन्नेमा आशावादी छौं’, एक नेताले भने ।

Advertisement

यसैगरी, गठबन्धन बैठकका सहभागी हुँदै आएका जनता समाजवादी पार्टीका नेता मनिष सुमनले अहिले सञ्चारमाध्यममा आइरहेको सिट सङ्ख्याहरु विगतदेखि नै चर्चा हुने गरेको उल्लेख गरेका छन् ।

यता, कांग्रेसका केही नेताहरुले सिट बाँडफाँट अन्तिम अवस्थामा पुगेको बताएका छन् । पाँच दलीय सत्ता गठबन्धनबीच प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत १६५ सिट बाँडफाँट अन्तिम चरणमा पुगेको बताएका छन् । जसअनुसार कांग्रेसले ८६ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने र एकीकृत समाजवादीले भने १७ सिट पाउने सहमति भएको बताइएको छ ।

केही ठाउँमा दुई वटा दलले दाबी कायम राखेको त्यो पनि सहमतिकै आधारमा भागबन्डा गरेर मिल्ने नेताहरूले बताएका छन्। नेताहरूको अनुसार अब सिट बाँडफाँट टुंगिन धेरै समय लाग्ने छैन। करिब २ महिनाको छलफलपछि सिट बाँडफाँट सहमति उन्मुख भएको छ।

मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित, नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका शीर्षस्थ नेताहरुबीच निरन्तर छलफल हुँदै आएको छ ।

तर कांग्रेसका नेताहरुले सार्वजनिक गरेको सूची अनुसार आफूले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर-३, कञ्चनपु-२, डडेलधुरा, दार्चुला, कैलाली-१, ४, ५, अछाम-२, बाजुरा, सुर्खेत-१ र २, दैलेख– २, मुगु, नवलपरासी पश्चिम-२, बर्दिया-१ रहेको छ । यसैगरी चितवन– १ र २, गोरखा– १, मनाङ, कास्की-१, तनहुँ-१ र २, स्याङ्जा-१ र २, नवलपरासी पूर्व-१ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी-१, पाल्पा-१, अर्घाखाँची, रुपन्देही– ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ-३ र बाँके–३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने सहमति भएको अपुष्ट सूचना बाहिर आएको छ ।

यसैगरी पाँचथर, इलाम-२, झापा-१,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोर-१,२,३ र ६, सुनसरी-२,३ र ४, ओखलढुंगा, उदयपुर–१, सप्तरी-३, ४, सिरहा– १, २ धनुषा-२, ३ र ४ महोत्तरी–२ र ३ निर्वाचन क्षेत्र पनि कांग्रेसले लिने सहमति भएको भनिएको छ ।

यस्तै सर्लाही – ४, बारा-१, पर्सा-३ र ४, सिन्धुली-१, रसुवा, धादिङ – २, नुवाकोट-२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर–१, काभ्रे–२ सिन्धुपाल्चोक – २ र मकवानपुर-१ कांग्रेसले लिने बताइएको छ ।

जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति भएको बुझिएको छ ।