काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा फर्कन आह्वान गरेका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको भन्दै आफ्नै घर फर्कन आह्वान गरेका हुन् ।
नेम्बाङले एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको भन्दै जनताको अदालतले उनीहरुको अस्तित्वलाई अस्वीकार गरेका बताए ।
माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा १७ प्रतिशत मत ल्याएपनि गत स्थानीय निर्वाचनमा १२ प्रतिशत मतमा खुम्चिएको पनि नेम्बाङले बताए ।
स्थानीय चुनावमा लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी बनेको र सत्तारुढ नेपाली काँग्रेस गठबन्धन बेगर एमालेको आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा पुगेको पनि उनले बताए ।