April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चोलेन्द्र शमशेरको जवाफले सांसदहरु आक्रोशित, अझै ३७ वटा प्रश्न सोध्न बाँकी

1.7K

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयानका क्रममा दुईवटा मात्र प्रश्नको जवाफ दिएका छन् । समितिका सदस्यहरुले विहीबार उनलाई दुईवटा प्रश्न मात्र सोधेका थिए ।

योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । पहिलो दिन बुधबार ४ वटा प्रश्नको जवाफ दिएका थिए । अरु प्रश्न आइतबार सोधिने भएको छ ।

उनलाई बिहान ११ बजे महाभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरबारमा बोलाएको थियो । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो ।

Advertisement

बयानका क्रममा उनले महाभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका छन् ।
जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गरे । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबीसमेत गरेका छन् । उनले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए ।

जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरे ।