काठमाडौं । नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभा निर्वाचनमा झलनाथ खनाल र संजिव राईलाई उम्मेदवार बनाउने भएको छ । उक्त पार्टीले प्रतिनिधि सभा र प्रदेशसभाका लागि सबै उम्मेदवारको नाम लगभग टुंग्याएको छ ।
एकीकृत समाजवादीको जिल्ला समिति इलामले जिल्लाका सबै निर्वाचन क्षेत्रको उम्मेदवारको नामावली सिफारिस गरेको हो। समिति बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री खनाल र क्षेत्र नम्बर दुईमा युवा संघका केन्द्रीय उपमहासचिव राईलाई प्रस्ताव गरेको हो। क्षेत्र नम्बर दुईमा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार बन्ने निश्चित छ ।
यस्तै, प्रदेश सभा क्षेत्र नम्बर १ को क र ख का लागि जिल्ला अध्यक्ष भक्त केसी, खिनु लङुवा, जित बहादुर राई, वृहस्पति खतिवडा, सावित्रा गर्तौत्लाको नाम सिफारिस गरेको छ।
क्षेत्र–२ (क र ख) का लागि हरि वाला, प्रमिला बस्नेत, सन्जिप राई , सोम सर्मा, हर्क साम्बा लगायतको नाम सिफारिस गरिएको जिल्ला सचिवालयले जनाएको छ ।