April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्राडा गोपीलाल न्यौपानेले काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिने

1.5K

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रा.डा.गोपीलाल न्यौपानेले उम्मेद्वारी घोषणा गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन् ।

जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि आफूले उम्मेदवारी दिएको न्यौपानेको दाबी छ । पत्रकार सम्मेलनमा बोल्दै उनले धेरै मुलुकमा भएका पटक–पटकको राजनीतिक परिवर्तनले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसकेकोे आरोप लगाए ।

वर्तमान राजनीतिक नेतृत्वले अब बहुदलीय व्यवस्था नजोगाउने भन्दै उनले लोकतान्त्रिक गणतन्त्रपनि जोगाउन नसक्ने ठोकुवा गरे । अहिलेका नेताबाट आम नागरिकको दशकौँको सम्पन्नताको चाहना पुरा हुन नसकेको भन्दै उनले भने,‘निर्वाचनमा घोषणापत्ररूपी निबन्धमार्फत जनतामाँझ जाने, मत बटुली सत्तामा पुग्ने र झुटा भाषण गर्नेबाहेक उहाँहरुसँग आर्थिक–सामाजिक रुपान्तरणका कुनै पनि नीति र कार्यक्रम भेटिएनन् ।’

Advertisement

देशभित्र गरिबी, बेरोजगारी, असमानता, महंगी, भ्रष्टाचार र अनैतिकता झनझन बढेर गएको भन्दै उनले राष्ट्रमा न्याय हराउँदै गएको समेत टिप्पणी गरे । उनले भने,‘जनताको जीउधनको सुरक्षा समाप्त भयो, मुलुक क्रमशः दलीय तानाशाहीकरण हुदै आर्थिक रुपले टाटपल्टने स्थितिमा पुग्यो । तपाई हामीले विश्वास गरेका दलका नेताहरु अत्यन्तै स्वार्थी हुदै गए। उहाँंहरु आफनो परिवार र कार्यकर्ताको स्वार्थको लागि मात्र भयो ।’

नेपाललाई सधैंका लागि रोजगारयोग्य मुलुक बनाउन आफुले उम्मेदवारी दिएको उनको भनाई थियो । उनले भने,‘नेपालले नेपालीलाई मात्रै नभई विदेशीलाई पनि रोजगारी दिन सकोस् भनेर म राजनीतिमा होमिएको हँु ।’
उनले कुनैपनि नेपाली अहिले नेपालमा बस्न सक्ने अवस्था नभएको उल्लेख गर्दै शहरमा राम्रो बंगला बनाउने र गाडी चढ्ने सपना युवाहरुले देख्न छाडेको टिप्पणी गरे ।

आफु उम्मेदवार हुन मात्रै उम्मेदवारी नदिएको पुष्टि गर्दै उनले भने,‘अहिले नेपाल हिँडेको कोर्स गलत छ, यसले एडप्ट गरेको फिलोसफी गलत छ, यसले लिएको नीति र थ्योरी गलत छ । त्यसैले मैले यो नीति बदल्न चाहान्छु ।’ र, उनले आफु बहुदलीय व्यवस्थाको पक्षमा भएको समेत बताए ।

३५ वर्षसम्म त्रिविका कलेजहरुमा अध्यापन गराएका प्रा.डा.न्यौपानेले व्यक्तिगत स्वतन्त्रता, प्रतिस्पर्धी खुला बजार अर्थतन्त्र, सानो र सीमित सरकार, सानो संसद्, सानो कर्मचारी प्रशासन, न्याय र जनताको जिउधनको सुरक्षा राज्यले गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका छन् । लोकतान्त्रिक संविधान जोगाउन उम्मेदवारी दिएको समेत थप प्रष्ट पार्दै उनले आफुले गणतन्त्र र संघीयतामा विश्वास गर्ने समेत जानकारी दिए । न्यौपानेले लोकतन्त्रमा नेता मोटाउने र जनता दुब्लाउने अवस्थाको अन्त्य गर्न आफुले चाहेको बताए ।

काठमाडौं ५ बाट ०७४ सालको निर्वाचनमा कांग्रेस नेता डा.प्रकाशशरण महत एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पराजित भएका थिए । यसपटक कांग्रेसले अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई अघि बढाउने तयारी गरिरहेको छ ।

विवेकशील साझा पार्टीबाट अलग भएर स्वतन्त्र भएकी रञ्जु दर्शनाले पनि सोही क्षेत्रमा उम्मेदवार बन्ने बताइसकेकी छन् । त्यस्तै, डा.बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई सोही क्षेत्रबट उम्मेदवार बन्न लगेकी हुन् ।