November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन शुभेच्छुकको भीड, तीन दिनसम्म पार्टीको झण्डा झुकाइने

3.1K

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता एवम सांसद प्रदीप गिरीको पार्थिव शरीरमा फुलगुच्छा अर्पण गर्न र श्रद्धान्जली ब्यक्त गर्न नेता तथा शुभेच्छुकहरु मेडिसिटी अस्पताल पुगिरहेका छन् ।

अस्पतालको शिवालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण प्रधानमन्त्री शेरबहादुर देउवादेखि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको त्यहाँ भीड लागेको छ ।

अस्पतालपछि उनको शव कांग्रेस केन्द्रीय कार्यालय लगिंदैछ । दिउँसो ३ बजेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने कांग्रेसले जनाएको छ । कांग्रेसले जारी गरेको विज्ञप्तिअनुसार बिहान ११ः३० बजेदेखि दिउँसो २ः०० बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

Advertisement

श्रद्धाञ्जली अर्पण गर्न पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता शेखर कोइराला, अर्थमन्त्री जनार्दन शर्मा, स्वामी आनन्द अरुण, गृहमन्त्री वालकृष्ण खाँण, नेता प्रकाशमान सिंह, डा.मिनेन्द्र रिजाल लगायत अस्पताल पुगेका छन् ।

यता, गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ। लहान नगर प्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आइतबारशोक बिदा दिएको बताए। गिरीको मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो। उनको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ।

त्यस्तै कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठकले गिरीको को शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरुमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको छ । १३ दिनसम्म देशभरका कार्यालयहरुमा गिरिका लागि शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि खुला गर्ने पनि निर्णय गरेको छ ।