April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रतिनिधि सभा निर्वाचन : झापामा सिटौला र लिङ्देनमध्ये को बलियो ?

1.6K

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा शीर्ष एवम ‘ह्याभी वेट’ नेता रहेको जिल्लामा सबैको नजर परेको छ । प्रदेश नम्बर १ को मोरङ, सुनसरी, झापा, इलामलगायतका जिल्लामा चुनावी परिणामका बारेमा ब्यापक जनचासो बढेको छ । यस अन्तर्गत झापा क्षेत्र नं ३ दुई शीर्ष नेताको भिडन्त हुने निश्चित छ । नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनबीच हुने प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

सोही क्षेत्रबाट २०७४ मा अध्यक्ष लिङ्देनले सिटौलालाई १३ हजार मतान्तरले पराजित गरेका थिए । लिङ्देनलाई त्यतिबेला नेकपा एमालेको पनि साथ थियो । उनले पनि केपी शर्मा ओलीलाई झापा ५ बाट चुनाव जित्न साथ दिएका थिए । तर यस पटक समीकरण बदलिएकाले चुनावी परिणामप्रति धेरैको चासो बढेको छ ।

किनकी २०७९ को मंसिर ४ मा हुने चुनावमा फेरि लिङ्देन र सिटौला आमनेसामने हुने संभावना छ । पाँचदलीय गठबन्धनका उम्मेदवार सिटौलासँग लिङदेनलाई कठिन हुने अनुमान गरिएको छ । तर लिङ्देनले एमालेसँग चुनावी तालमेल गर्ने संकेत गरिसकेकाले सिटौलालाई त्यति सजिलो छैन । २०७४ को चुनावी परिणामलाई आधार मान्दा सिटौलालाई लिङ्देनमाथि जीत हासिल गर्न कठिन देखिन्छ ।

Advertisement

स्थानीय तहको चुनावलाई आधार मान्दा झापा १ मा पर्ने मेचीनगरको मेयरमा एमाले विजयी भएको थियो । त्यहाँ एमाले र राप्रपाको मत जोड्दा गठबन्धन दलको मत ९ हजारले बढी हुन्छ । झापा १ मा पर्ने भद्रपुर ९ र १० को वडाध्यक्षमा एमाले र राप्रपाको मत जोड्दा काँग्रेससहितको गठबन्धनको भन्दा बढी हुन्छ । बुद्धशान्ति गाउँपालिकाको ४ देखि ७ वडासम्म वडाध्यक्षले पाएको मत जोड्दा पनि काँग्रेससहितको गठबन्धनको मत एमाले र राप्रपाको मिलाउँदा भन्दा कम हुन्छ ।

२०७४ को प्रतिनिधि सभा चुनाव र स्थानीय चुनावमा दलहरुले पाएको मतलाई आधार मान्दा गठबन्धनबाट सिटौला उम्मेदवार बनेमा सजिलो छैन । लिङ्देनलाई पनि एक्लै चुनाव लडेर जित्न मुश्किल छ । उनलाई पनि ओलीको साथ चाहिन्छ । ओली र लिङ्देन मिलेमा सिटौलालाई चुनाव कठिन हुनसक्छ ।
स्थानीय तहको चुनावलाई आधार मान्दा झापा ३ मा पर्ने कचनकवल र भद्रपुरमा नेपाली काँग्रेसले जीत हासिल गरेको थियो । हल्दीवारीमा राप्रपाले जितेको थियो । उक्त क्षेत्रमा पर्ने बिर्तामोडको वडा नम्बर १० मा पनि काँग्रेसले वडाध्यक्ष जितेको थियो ।भद्रपुरको १ देखि ८ वडा झापाको ३ नम्बर क्षेत्रमा पर्दछ । उक्त क्षेत्रको २, ५, ६ र ८ मा काँग्रेसले जितेको थियो । राप्रपाले ३, ५ र ७ जितेको थियो । एमालेले १ नम्बर वडा जितेको थियो ।

सबै मतलाई आधार मान्दा काँग्रेसको मत बढी देखिन्छ । तर, एमाले र राप्रपा मिलेमा उनीहरुकै मत बढी देखिन्छ । कांग्रेस र माओवादीको मत जोड्दा पनि गठबन्धनलाई एमाले र राप्रपाको गठबन्धनसँग झापा ३ मा उछिन्न मुश्किल देखिन्छ । यसकारण झापा ३ मा सिटौला उम्मेदवार बनेमा एमाले विभाजनको असरमा भर पर्नुपर्ने हुन्छ । एमाले विभाजनको धेरै असर परे मात्र उनले बाजी मार्न सक्नेछन् । लिङ्देनको ओलीसँग तालमेल नभएमा वा असफल भएमा पनि सिटौलाको पल्लाभारी हुनसक्छ । तर मा एमालेसँग राप्रपा मिलेमा सिटौलालाई कठिन पर्न सक्छ । तर सोही क्षेत्रबाट एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि चुनावमा उठ्ने मन देखाएकाले प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।