काठमाडौं । नेपाली कांग्रेसका नेता, प्रखर समाजवादी चिन्तक तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनलाई आइसियूमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि शुक्रबार गिरिको स्वास्थ्य अवस्था गम्भीर रहेको संकेत गरेका छन् ।
अस्पतालबाट फर्किएपछि निधिले सामाजिक संजालमा लेखेका छन्,‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रो पटक हेरेर बाटोमा फर्कदै छु। स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु । सबैले प्रार्थना गरौं !’
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार गिरिलाई भेटेका थिए । घाँटीमा क्यान्सर भएपछि गत बर्ष भारत उपचारका लागि गएका गिरि यसपटक स्वदेशमै उपचार गराइरहेका छन् । उनीमा हाल निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ । गिरिको स्वास्थ्य लाभको कामना गर्दै शुक्रबार प्राथना सभाको आयोजना पनि गरिएको छ । नेपाली कांग्रेस बैचारिक अभियानले डिल्लीबजारमा प्राथना सभाको आयोजना गरिएको हो ।
गिरि निकट मानिने रत्न कार्कीका अनुसार प्राणघातक क्यान्सर रोगबाट ग्रसित भई भारतस्थित मेदान्त, हिन्दुजा लगायतका प्रसिध्द अस्पतालको उपचार पश्चात बिगत २६ दिनदेखि मेडीसिटी अस्पताल भैसेपाटीको भेन्टिलेटरको सहायतामा गिरिको उपचार भईरहेको र उनी सिकिस्त अवस्थामा छन् ।