March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

महाकाली सन्धिमा कमजोरी थियो : केपी ओली

2.3K

काठमाडौँ — एकीकृत महाकाली सन्धि नेपालको संसदले अनुमोदन गरेको साढे दुई दशकपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन् । पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रमका बोल्दै तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको बताएका छन् । 

एकीकृत महाकाली सन्धि अनुमोदन गर्न महत्त्वपूर्ण भूमिका खेलेका ओलीले महाकालीको पानी दुवै देशको आधा आधा हो भन्ने विषयलाई सन्धिले स्थापित गरेको बताएका छन्।

‘त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ । धेरै पहिलेदेखि तल्लो शारदा नहर पनि चलेको रहेछ । त्यस समयमा चर्चा भएन । त्यसले गर्दा कन्जक्टिभ वाटर (पानी खपतको बाँडफाँट)को विषयमा प्रसस्त छलफल हुन पाएन । कतिपय ल्याप्सेस (कमजोरी) रहे,’ उनले भने ‘त्यसलाई (तल्लो शारदा नहर)को पानी दिन्छु भनेर कबुल गरिएको छैन । जति पानी छ त्यसको आधारमा आधा भनेको हो । महाकाली सन्धिले आधा पानी नेपालको हो भनेर स्थापित गरेको छ ।’

Advertisement

एकीकृत महाकाली सन्धि अनुमोदन भए पनि पानीको बाँडफाँटको विषयमा टुङ्गो लागेको छैन । भारतले तल्लो शारदा नहरको प्रयोग गर्दै आएको पानीको परिणाम घटाएर मात्रै बाँकीमा बाँडफाँट हुनुपर्ने बताउँदै आएको छ र नेपालले त्यसलाई स्वीकार गरेको छैन ।

२०५३ सालमा संसदले सन्धिलाई अनुमोदन गरेको थियो । त्यस समयमा नेकपा एमालेभित्र त्यसले ठूलो विवाद निम्त्याएको थियो । सोही विषय चर्किँदै गर्दा त्यसबेला एमाले विभाजित समेत बनेको थियो।