November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

समृद्ध छथर गाउँपालिका निर्माणका लागि फेरि एकपटक जनताको साथको आवश्यकता छ: सन्तोष तिगेला

9.4K

सन्तोष तिगेला (सन्तवीर लिम्बु) छथर गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् । २०७४ को निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भइ ५ वर्षे कार्यकाल पुरा गरेका तिगेला यहि वैशाख ३० गते हुन लागेको स्थानीय आसन्न निर्वाचनमा पुनः एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका छन् । उनीसँग नेपाल मामिलाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छः

तपाइँ निवर्तमान छथर गाउँपालिका अध्यक्ष हुनुहुन्छ, यसपटक ६ दलीय गठबन्धनलाई कतिको चुनौतिको रुपमा लिनुभएको छ ?
लोकतन्त्रमा सबै नागरिकहरू सार्वभौम हुन्छन् । आफ्नो मताधिकार प्रयोग गर्ने स्वतन्त्र अधिकार हुन्छ । मैले जनताको पक्ष, भौगोलिक आवश्यकता, नागरिक चाहनाको सम्बोधनको विषयमा बोलेको छु । यस भौगोलिक परिवेशमा म सुपरिचित व्यक्तित्व भएको कारण अहिले ६ वटा पार्टीबीच गठबन्धन गरी म बिरुद्ध दर्ता गरिएको उम्मेदवारीलाई चुनौतीको रुपमा नभइ फेरि अर्को राजनैतिक इतिहास रच्ने अवसरको रुपमा लिएको छु ।

गएको पाँच वर्षको आफ्नो कार्यकाललाई मूल्याङ्कन गर्दा कस्तो पाउनुहुन्छ ?
छथरको भूगोल र यहाँका नागरिकहरूको जीवन, नागरिकहरूको भविष्य निर्माण, पुर्वाधार विकास लगायतका कामहरूलाई अगाडि बढाउने, जग बसाल्ने जस्ता कार्य मेरो नेतृत्वमा सम्पन्न भएको छ । पञ्चायत कालदेखि स्थगन भएका योजनाहरूलाई थालनी गर्ने र पुरा गर्ने काम भएका छन्, जुन ऐतिहासिक छन् ।

Advertisement

तर, यो ५ वर्षको एमाले नेतृत्वको स्थानीय सरकार विवादित बन्योे, भ्रष्टचार गरे, जनप्रतिनिधि व्यक्तिगत सम्पत्ति जोड्नेतर्फ लागे, नातावाद कृपावादले ग्रस्त भए, जनाताको लागि सम्झन लायक काम केहि भएन भन्छन् नि ?
यो विरोधीहरूको आरोप हो । लोकतन्त्रमा एकले अर्कोकोे नकरात्मक विषयहरू उठान गर्नु राजनीतिक संस्कार पनि भएको हुँदा उनिहरूले राजनीतिक धर्म निभाएका हुन् । यो खाली विरोधीहरूको स्वर हो, नागरिकको हैन ।

एकल महिलालाई आश्वासन दिएर जागीर नदिलाएको भन्ने गुनासो निकै चर्चामा छ नि ? प्रष्ट पार्न मिल्छ ?
कुनैपनि सरकारी कामको विधि र प्रक्रिया हुन्छ । बालबालिका, महिला, युवा, ज्येष्ठ नागरिक जो कोहि व्यक्ति प्रक्रियासङ्गतले अगाडि बढ्नुपर्छ । जुन एकल महिलाका प्रश्न उठिरहेको छ, यो मेरो व्यक्तित्व र भूमिकालाई मन नपराउने तत्वले खेलेको भूमिका हो । विद्यालयमा दरबन्दी रिक्त भए विद्यालय व्यावस्थापन समितिले गाउँपालिकासँग अनुमति माग्छ । गाउँपालिकाले अनुमति दिइसकेपछि परीक्षा संचालन गर्नका लागि मिति तोकिन्छ । उक्त परीक्षामा सामेल नभइ लान्छना लगाउनुलाई म विरुद्धको रेडिमेड नाटक मञ्चन हो भन्छु । यसमा कुनैपनि सत्यता छैन । आरोप र चरित्रहत्या गर्न सुनियोजित हिसाबले गरिएको नाटक मञ्चन हो । यसबारे विद्यालय परिवार, अभिभावक, स्थानीय नागरिकहरू सबै प्रष्ट छन् ।

यसले निर्वाचनमा असर पार्छ जस्तो लागेको छैन ?
जहिले पनि सत्यको जीत हुन्छ । स्थानीय हिसाबले सबैजना प्रष्ट भइसेकेपछि जतिसुकै फण्डा मच्चाए पनि त्यसले असर गर्दैन ।

यो पाँच वर्षको अवधिमा अघिल्लो निर्वाचनमा जनतासामु लगेका एजेण्डा र प्रतिबद्धताहरू कति प्रतिशत पुरा भए ?
९० प्रतिशत पुरा भएका छन् ।

जस्तै ?
अघिल्लो निर्वाचनमा विशेष म सडक र खानेपानीको विषयमा प्रतिवद्ध थिएँ । पञ्चकन्यामा प्रारम्भ भएको खानेपानी योजना अहिले पुरा हुने चरणमा छ । सुदाप र ओख्रेमा काम थालनी गरेका हौं, तर केहि विकास बिरोधी तत्वहरूले मुद्धा हालेका कारण योजना अड्कियो । अहिले फेरि संचालन हुने तयारीमा अगाडि बढिसकेको छ । सडक संचालन निर्माणको कामहरू अगाडि बढेको छ । सिचाइको कामहरू प्रारम्भ भएको छ । एमबीबीएस डाक्टर सहितको १५ शैयाको अस्पताल निर्माण, भवन निर्माण, चक्रपथ निर्माण, लम्बु पक्कि पुल निर्माण, हरेक वडा पक्की स्वास्थ्य चौकीहरू निर्माण कार्य सम्पन्न भएका छन् । हरेक वडाबाट तमोर जोड्ने सडक रणनीतिक हिसाबले सम्पन्न भएका छन् । हाक्पारा पुल, टोलटोलमा सामुदायिक स्वास्थ्य इकाइहरूको निर्माण कार्य अगाडि बढेको छ । घरघरमा स्वास्थ्य उपचार गर्ने कार्यक्रम नियमित रुपमा अगाडि बढेको छ । प्रसुति गृृहलाई व्यावस्थित गर्ने कामलाई व्यवस्थित र विस्तार गरिएको छ । कोभिडको अफ्ठ्यारो परिस्थितिमा नागरिकको जीवन रक्षाका लागि सशक्त भूमिका निर्वाह भएको छ । विविध कारणले गर्दा जनतामाझ गरिएका केहि आंशिक प्रतिबद्धताहरू मात्र पुरा भएका छैनन् ।

जम्मा ९ किलोमिटरको दुरी रहेको सिंधुवा शुक्रबारे सडकखण्ड अझैं पूर्ण रुपमा सम्पन्न भएका छैन । धेरै परियोजनाहरू सुरु भएको छ भन्नुभयो, सुरु हुनै पाँच वर्ष लागेपछि सम्पन्न हुन अर्को सय वर्ष लाग्ने हो ?
परिवेश कस्तो थियो भन्नेबाट सुरु गर्नुपर्छ । सिंधुवा शुक्रबारे सडकखण्ड हिजो कस्तो थियो र आज कस्तो भएको छ भन्ने बुझ्न दुई अवस्थाका तस्विरहरू हेरे पुग्छ । हामी २०७४ को निर्वाचनमा निर्वाचित भएपछि त्यसवर्ष बजेट कार्यन्वयन ग¥यौं । उन्नती परियोजनाले टेन्डरको काम गरिरहेको थियो, तर सडक निर्माणमा ढिला सुस्ती गरेपछि टेन्डर तोडिदियौं । सोहि पैसाले उपभोक्ता समितिमार्फत दोस्रो वर्षमा सोलिङ गर्ने काम ग¥यौं । तेस्रो वर्षमा कालोपत्रे बनाउन बजेटको खोजी गर्ने क्रममा प्रदेश सरकारसँग साझेदारी गरि कालोपत्रेको बजेट सुनिश्चित ग¥यौं । त्यसपछि ३ वर्षे टेन्डर लाग्यो । ३ वर्षे परियोजनाको अवधि २०७९ को असार मसान्तमा पुरा हुन्छ । अहिले पीच चरणमा अगाडि बढिसकेको छ । असार मसान्तभित्रमा कालोपत्रे सम्पन्न हुन्छ ।

पानीको समस्याहरू समाधान गरेँ भन्नुभयो, छथर गाउँपालिकामा अब पानीको हाहाकार हटेकै हो त ?
हाहाकारको अन्य नै भयो भन्ने त हैन, यद्यपी हमरजुङ, पञ्चकन्या, फाक्चामाराका तल्लो भेगहरू जहाँ पानी बोकेर खानुपर्ने बाध्यात्मक अवस्था थियो । तमोरबाट बोकेको एक गाग्रो पानीमा निर्भर हुनेपर्ने अवस्था थियो, त्यो बाध्यता आज अन्त्य भएको छ । हमरजुङको फयाक, खैरेनी पञ्चकन्याको हेमाङ्दिम, खिर्खिरे, फाक्चामाराको परेवाखोप, सिंजेवा, हाक्पारा जहाँ पानीको हाहाकारका कारण मान्छे बस्न सक्ने परिवेश थिएन त्यस्तो ठाउँको हरेक घरमा आज करेसाबारी निर्माण भएको छ ।

छथर क्षेत्र भाषा तथा संस्कार संस्कृतिको उद्गम थलो हो, यसको संरक्षणबारे केहि योजना छन् ?
अहिले उल्लेख गरेको घोषणापत्रमा दलित, आदीवासी समुदाय, साहित्य कला संस्कृति, भाषा प्रर्वद्धन तथा सम्वद्र्धन, ऐतिहासिक पुरातात्विक वस्तुहरूको संरक्षण तथा खोज र अनुसन्धान लगायतको विषयमा केहि गर्न चाहन्छौं भनेर उल्लेख गरेका छौं । हामीले भनेका छौं– गाउँपालिकामा एउटा आदिवासी जनजाति आयोग गठन हुनेछ । त्यो आयोगले आदिवासी जनजातिहरूको भाषा तथा संस्कृतिको संरक्षण सँगसँगै आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक पक्षको कामहरूलाई अगाडि बढाउन, आदिवासी जनजातिहरूको सशक्तीकरण र राज्यको मूल प्रवाहमा ल्याउका लागि आयोगमार्फत अगाडि बढ्ने छ । यस्तै, दलित आयोगको स्थापना गरि उक्त आयोगले दलित भित्रको विभेद र समानताको विषयमा काम गर्ने कुराहरू पनि उल्लेख गरेका छौं । यी हाम्रा प्रतिबद्धतालाई प्रमाणको रुपमा राखिरहन हामीले जनतालाई भनिसकेका छौं । हामी आदिवासी जनजाति, दलित, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, सिमान्तकृत सबैको पक्षमा काम गर्न चाहान्छौं ।

छथर गाउँपालिकाको अध्यक्षमा पुनः सन्तोष तिगेला नै किन ?
अहिले छथर गाउँपालिका आफ्नो खुट्टामा आफै उभिन सक्ने परिस्थितिमा छ । हिजो पञ्चायत कालमा सुरु भइ अलपत्र परेका योजनाहरू अहिले संचालनका लागि अगाडि बढेका छन् । प्रत्यक्ष रुपमा जनताको घरआँगनमा पुग्ने गरिको विकास र महसुस हुनेगरि कामको थालनी भएको छ । छथरे जनताहरूको भाग्य र भविश्यसँग जोडिने सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, भाषा, कला, संस्कृति यावत विषयमा कामहरू अगाडि बढेका छन् । यी सबै कार्यहरूको जग बसाल्न र निरन्तरता दिन पुनः एकपटक मलाई जनताको साथको आवश्यकता छ ।

यदि पुनः निर्वाचित भएको खण्डमा यी एजेण्डा र प्रतिबद्धताहरू पुरा भएनन् भने नि ? जनाताले कस्तो सजाय दिउन् जस्तो लाग्छ ?
नेता, नेतृत्व र पार्टीमा आवद्ध कुनैपनि व्यक्तित्वको लागि जनता उच्च अदालत हो । आवधिक निर्वाचनहरूमा हरेक नेता पार्टीहरू जनताबीच अनुमोदित हुनैपर्छ । कामहरू पुरा हुन नसकेको खण्डमा आफ्नो हिसाबले कारबाही गर्ने, अभिमत जाहेर गर्ने स्थिति निर्माण हुन्छ । तर, २ वर्षे कोभिड महामारीका कारण लथालिङ्ग अवस्था सिर्जना हुँदा पनि ९० प्रतिशत काम पुरा गरेँ भने अबको ५ वर्षमा म सतप्रतिश कार्य निर्माण गर्नेछु । छथरलाई एउटा नमुना पालिकाको रुपमा स्थापना गर्नेतर्फ अगाडि बड्नेछु । मैले

जनताले गुनासैगुनासो राखिरहेका छन् अनि आफूले ९० प्रतिशत काम गरेको छु, फस्ट डिभिजन ल्याएको छु भन्न मिल्छ र ?
गत निर्वाचनको घोषणापत्रहरू मलाई अझैं याद छ । ती घोषणापत्र अनुसार मैले काम गरेकै हो । जुन छथरवासी जनताले दैनिक रुपमा महसुस गरिरहेका छन् ।

अन्त्यमा तपाइँका आफ्नै केहि कुरा ?
वैशाख ३० गते स्थानीय आसन्न निर्वाचन सम्पन्न हुँदैछ । मलाई पुनः बहुमतले निर्वाचिन गराउन छथरका सम्पूर्ण नागरिकहरूमा आह्वान गर्दछु । म छथर गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने सोचले अघि बढेको छु । छथर गाउँपालिकाको विकास र समृद्धि नै मेरो प्रतिबद्धता हो । म जनतामाझ बसेर जनताको सेवकको रुपमा काम गर्ने संकल्प गर्छु । यस ५ वर्षमा संगालेका मेरा अनुभव छथर गाउँपालिकाका लागि लाभदायक बन्न सक्छ ।