पोखरा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले), पोखरा–१, वडा कमिटीले आफ्ना उम्मेदवारसहितको घरदैलो सम्पन्न गरेको छ ।
शुक्रबार कसेरी, शान्तिटोल र गैरी गाउँमा घरदैलोसहित एमालेले घरदैलोको औपचारिक समापन गरेको हो । घरदैलोका क्रममा वडाध्यक्षका उम्मेदवार सहारा प्रधानले स्थानीयबासीको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । घरदैलोका क्रममा एमालेका उम्मेदवारसमक्ष स्थानीयबासीले लालपुर्जा दिलाउने प्रतिबद्धता व्यक्त गर्न माग गरेका छन् । त्यसैगरी, सडक कालोपत्रे र ढलान गर्न र सेती नदीबाट बस्ती जोगाउने योजना ल्याउन माग गरेका छन् ।
यसअघि, एमालेले बगर, भीमबजार, भीमकालीपाटन, ट्याक्सीचोक, बागबजार, अधिकारीटोल, शंकरटोल, नयाँगल्ली, टुँडिखेल, हरिचोक, सिम्पानी, मोहरियाटोल, विन्ध्यवासिनीचोक, हनुमानगल्ली, केआईसिंहपुललगायतका टोलमा घरदैलो सम्पन्न गरिसकेको छ । घरदैलो शुभारम्भ गर्नु अघि एमालेले पोखरा–१ मा पोखरा महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारसहितको उम्मेदवार परिचय तथा चुनावी सभा सम्पन्न गरेको थियो भने विभिन्न टोलमा कोणसभा समेत गरेको थियो ।
घरदैलोका क्रममा स्थानीयबासीबाट प्राप्त सुझाव तथा प्रतिक्रियाले आफू उत्साहित भएको वडाध्यक्ष पदका उम्मेदवार प्रधानले बताए । विगतमा आफू वडा सदस्य पदमा निर्वाचित भएर काम गरेको अनुभवले वडाध्यक्ष भएपछि आफूलाई काम गर्न अझ सहज हुने बताउँदै प्रधानले वडा नं. १ मा एमालेले सहजै चुनाव जित्ने दाबी गरे । घरदैलो कार्यक्रमको समापन गर्दै कार्यक्रम संयोजक एवं एमाले वडा कमिटी उपसचिव कल्पना आचार्य बाँस्तोलाले नेता, कार्यकर्ता र स्थानीयको उत्साहजनक उपस्थितिसहित घरदैलो सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद दिए । त्यस्तै, एमाले वडा कमिटीकी सचिव राधा बराल अधिकारीले सूर्य ध्वजावाहक उम्मेदवारलाई अत्याधिक मतसहित जिताउन टोलबासीलाई आग्रह गरे ।
वडा नं. १ मा एमालेले वडाध्यक्षमा प्रधानसहित महिला सदस्यमा शोभा गुरुङ, दलित महिला सदस्यमा जुगमाया दमाई, खुला सदस्यमा जुमकाजी गुरुङ र ठाकुरप्रसाद वाग्लेलाई उम्मेदवार बनाएको छ । सो वडामा २०७४ को स्थानीय निर्वाचनमा एमालेले वडाध्यक्षमा शारदाकुमारी पराजुलीसहित प्यानलै जितेको थियो ।




