काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मान्छेमा हुने आलोचनात्मक चेतलाई सम्मान गर्नुपर्ने बताएका छन्। तर त्यस्तो आचलनात्मक चेत सिर्जनात्मक, समृद्धि र एकताका लागि हुनुपर्ने उनको भनाइ छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिने बताएका हुन्। साहित्यको विधामार्फत ल्याएर समाजलाई अगाडि बढाउन सकिने मन्त्री भट्टराईले बताए।
साहित्य र कलाको माध्यमबाट देशमा जातीय सद्भाव, धार्मिक सहिष्णुता र भौगोलिक एकता कायम राख्न सकिने उनको भनाइ छ।
प्राज्ञिक कविहरुले समाजका अग्रगामी विषयलाई कलमका माध्यमबाट उजागर गर्न अझ बढी भूमिका खेल्नुपर्ने पनि मन्त्री भट्टराईले उल्लेख गरे।