काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठकका लागि आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदन माथिको छलफल शनिबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा सकिएको छ । उक्त बैठकमा १० समूहमा विभाजित टोली नेताले शनिबार समूहगत छलफलपछि आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
आज बस्ने बैठकले प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् । ती प्रतिवेदन आजै पारित गर्ने एमालेको तयारी छ ।
भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शनिबार तीनवटै प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए । बैठक शुक्रबारदेखि शुरु भएको थियो ।
आज प्रतिवेदन पारित गरिएपछि असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेश गर्ने तयारी छ । एमालेले गोदावरीमा विधान महाधिवेशन राखेको छ ।