July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

एमालेमा पुराना नेता विस्थापनबारे छलफल : दुई कार्यकाल मात्र कार्यकारी पदको प्रस्ताव

1.4K

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा ‘पुराना पुस्ताका नेतालाई विस्थापन गर्ने विषय’मा पार्टी बैठकमा औपचारिक छलफल सुरु भएको छ।

काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म युवा पुस्ता ल्याउनुपर्ने सुझाव दिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। 

‘पार्टीमा क्रमशः पुराना पुस्ताको बाहुल्यता बढ्दै गएको छ, उमेरको हिसाबले पनि,’ उनले भने, ‘यो पार्टीलाई नवीकृत गरेर लैजान प्रत्येक तहमा युवाहरूको उल्लेख्य सहभागिता नीति निर्माणदेखि कार्यान्वयनको तहसम्म, जनप्रतिनिधिदेखि पार्टीको नेतृत्व तहसम्म युवाको सहभागिता बढाउनुपर्छ भन्ने सुझाव पार्टीको समूह नेताहरूबाट आएको छ।’   

Advertisement

पार्टी विधानमा ७० वर्ष उमेर हद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले राजकीय पदका सम्बन्धमा भने संविधान पनि आकर्षित हुने भएकाले त्यसबारे यसै भन्न नसकिने बताए। 

यस्ता आए सुझाव

उनले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी पार्टीलाई समावेशी बनाउने सुझाव पनि आएका बताए। 

उनले भने, ‘पार्टीलाई बढीभन्दा बढी समावेशी बनाउने, महिला, जनजाति, मधेसी, अल्पसंख्यक, उत्पीडित, दलित समुदायको प्रतिनिधित्व बढाउने लगायतका अपांगता भएका क्षेत्रबाट समेत प्रतिनिधित्व बढाउँदै पार्टीलाई एउटा राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्ने कुरा आएका छन्।’

उनका अनुसार देश प्रादेशिक संरचनामा गएकाले पार्टीको संरचनामा पनि उपाध्यक्ष थप्ने कि भन्ने विषय छलफलमा उठेको छ।