November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस महाधिवेशन १८ गतेबाट, विवाद देखिएका जिल्लामा पछि

4.7K

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु हुने बताएका छन् । बुधबार प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने जानकारी दिए ।

उनले कांग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध पदाधिकारीहरुले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपील गरे । महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनु पर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनु पर्ने कर्तव्य नेपाली काँग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उनले अनुरोध गरे ।

१८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिए पनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरुको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै २ वटा जटिलता रहेको उनले बताए ।

Advertisement

प्रवक्ता शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी भदौ १८ गतेबाट विधिवत रुपले १४ औँ महाधिवेशनमा प्रवेश गर्दैछ, सामान्यतया महाधिवेशन भन्दै गर्दा केन्द्रीय महाधिवेशनको उद्घाटन हुने तिथिलाई बुझ्ने एक ढंगको प्रचलन छ, तर नेपाली कांग्रेस पार्टीको फरक परम्परा के छ भने महाधिवेशन भनिरहँदै गर्दा केवल केन्द्रीय महाधिवेशनको उद्घाटन दिन मात्रै होइन, एकसाथ देशभरका वडाहरुको अधिवेशन जुन दिन शुरु हुन्छ, त्यो दिन नेपाली काँग्रेस पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ भएको हुन्छ र भदौ १८ गते महाधिवेशन प्रारम्भ हुँदैछ ।’

शर्माले भने, ‘कुनै भूगोलमा कारणवश १८ गते शुरु हुँदै गर्दा कोरोनाको जटिलता वा अन्य केही जटिलता र क्रियाशील सदस्यता नटुंगिएको खण्डमा तद् जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग सम्पर्क, समन्वय गरेर अनि अनुमति लिएर ती जिल्लाको अधिवेशनलाई १८ बाट १९, २०, २१ आफ्नो अनुकूलता अनुसार गर्न सक्नु हुनेछ ।’