April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चितवन, झापा र काठमाडौंमा राजावादीहरुको शक्ति प्रदर्शन

4.6K

काठमाडौ – शनिबार एकैदिन राजावादीहरुले चितवन, झापा, काठमाडौं, मकवानपुर लगायतमा प्रदर्शन गरे । फरक फरक संस्थाको नामबाट प्रदर्शन गरे पनि प्रदर्शनको उदेश्य एउटै हो, वर्तमान व्यवस्थाप्रति जनतामा वितृष्णा जगाउनु र धर्मको नामबाट राजसंस्थालाई पुनस्थार्पना गर्नु । राजावादीहरुले शनिबार यस्तो जिल्ला रोजे जो आफैंमा रणनीतिक चयन थियो ।

काठमाडौं मुलुकको केन्द्रीय राजधानी हो, त्यसैले पनि काठमाडौमा गरिएको प्रदर्शनले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा सन्देश जान्छ । काठमाडौ पछि उनीहरुले चितवन र झापा जिल्ला रोजे । चितवन नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष पुष्पकमल दाहालको जिल्ला हो भने झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको दुई ‘पाइलट’कै गृह जिल्लामा प्रदर्शन गरी राजावादीहरुले आफ्नो शक्ति प्रदर्शन गरे ।

काठमाडौंमा गरिएको प्रदर्शनको आयोजना नेपालकोलागि नेपाली  र स्वतन्त्र नागरिक समाजको नामबाट गरिएको थियो भने चितवनको प्रदर्शन वीर गोरखाली (एटिएफ)ले गरेका थियो । यसैगरी झापा र मकवानपुरको प्रदर्शन राप्रपाले गरेको हो । नेपालकोलागि नेपाली र स्वतन्त्र नागरिक समाजका अध्यक्ष सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने हुन भने वीर गोरखालीको अध्यक्ष सन्तोष राजावादी हुन् । यी तीन व्यक्ति राजावादी हुन र मुलुकमा सक्रिय राजतन्त्र चाहन्छन् ।

Advertisement

अहिले सरकारको कार्यशैलीप्रति जनता निराशा छन् । कोरोनाको महामारीले आक्रान्त जनतालाई सरकारले सामान्य राहत दिन सकेन । सरकारले नागरिकको स्वास्थ्यमा खेलवाड गरेको छ । यस्तो बेला जनतामा निराशा उत्पन्न भएको छ । यस्तो निराशाको फाइदा उठाउदै राजावादीहरु व्यवस्थाकै विरोधमा उत्रेका छन् । राजावादीहरुको यस्तो प्रदर्शनमा कुनै ठाउँमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले पनि समर्थन गरेका छन् ।