काठमाडौ– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज (शुक्रबार) बस्दै छ। बैठक बालुवाटारमा बिहान ११ बजे बस्दै छ।
बुधबार सम्पन्न एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो। थियो।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्। अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरेका थिए।
माधव नेपाल पक्षले भने आजका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक बहिष्कार गर्ने भएको छ। नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो।
बिहीबार बानेश्वरमा बसेको नेपालपक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले अहिलेकै अवस्थामा शुक्रबारको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको नेपालपक्षका नेता योगेश भट्टराईले बताए।
ओलीपक्षले यो केन्द्रीय कमिटी २०७५ जेठ २ को अवस्थाकै भएको दाबी गरेको छ। तर, त्यसमा माओवादीबाट आएका नेताहरुलाई समेत समावेश गरिएकाले नेपालपक्षले जेठ २ मा फर्केको भन्न नमिल्ने जनाएको छ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेपाल पक्षका नेता भीम रावलले सहमति नहुँदासम्म कुनै पनि बैठकमा सहभागी नहुने बताए। नेता रावलले दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग नगरी केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने भनिएकोमा पनि आपत्ति जनाए।
यस्तै, पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्बन गरिनुपर्ने निर्णय भएको पनि रावलले जानकारी दिए। ‘केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमित तथा स्थायी कमिटीको बैठकबाट निर्णय प्रस्तावको आधारमा मात्र बोलाइनु पर्दछ,’ नेता रावलले भने।