काठमाडौं– नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। ११ बजे सुरु हुने भनिएको बैठक निर्धारित समयभन्दा ढिलो मात्रै सुरु भएको हो।
मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णय गरिसकेकाले आजको बैठक अन्तिम हुनेछ।
आजको बैठकले एमालेलाई २०७५ जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्ने बताइएको छ। साथै, आजको बैठकले पुरानै संरचनाको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णयसमेत गर्नेछ। हिजो बसेको ओली पक्षीय स्थायी समिति बैठकले पार्टीलाई जेठ २ को संरचनामा फर्काउने निर्णय गरेको थियो।
नेकपा विवादमा सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए।
अध्यक्ष ओलीले एकपक्षीय रुपमा केन्द्रीय कमिटी भंग गरी विधानसमेत संशोधन गरेपछि माधव नेपाल समूहले चर्को असन्तुष्टि जनाउँदै आएको थियो।
माधव नेपाल समूहले भने आजको बैठकलाई अवैधानिक भन्दै सहभागी नहुने बताइसकेको छ।