November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले बुझाएनन् स्पष्टीकरण

3.5K

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झलनाथ-माधव समूहबाटबाट नियुक्त भएका मन्त्रीहरूले स्पष्टीकरण बुझाएका छैनन्। स्पष्टीकरण नबुझाएपछि एमालेको केपी ओली समूहले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लागेको छ।

एमालेका तर्फबाट माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा नियुक्त ६ जना मन्त्रीले स्पष्टीकरण नबुझाएका हुन्। उनीहरूले शुक्रबार प्रदेश सरकारका मन्त्री पदको सपथ लिएका थिए।

पार्टीको स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारको मन्त्री मण्डलमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण मागेको थियो। तर, उनीहरू ६ जनाले नै स्पष्टीकरण पेश नगरेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।

Advertisement

‘अहिलेसम्म स्पष्टीकरण बुझाइएको छैन,’ एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले भने, ‘हामीले उहाँहरूलाई २४ घण्टा समय दिएका थियौं। अब उहाँहरूमाथि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही हुन्छ। त्यो प्रक्रिया अगाडि बढिसकेको छ।’

गत सोमबार एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो।

शुक्रबार एमालेले सरकारमा रहेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर ७ जना मन्त्री थपेको थियो। आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाशबहादुर शाह दोहरिँदा भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशी र सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्कालाई मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका थिए।

यस्तै, एमालेकै चुनकुमारी चौधरीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, मनाकुमारी साउदलाई सामाजिक विकास राज्यमन्त्री र अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गरिएको थियो।

यसअघि नै कारबाहीका लागि सिफारिसमा परेका आर्थिक योजनामन्त्री शाह बाहेकका ६ जना मन्त्रीसँग एमालेले स्पष्टीकरण मागेको थियो। पार्टीको सचेतकमा नियुक्त गरिएकी दुर्गाकुमारी कामीले पनि स्पष्टीकरण नबुझाएको एमालेले जनाएको छ।