काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक बोलाइने प्रक्रियाप्रति उपाध्यक्ष वामदेव गौतमले असन्तुष्टि जनाएका छन्। उनले बैठक बोलाउन दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न अवरोध गर्ने नभएको प्रष्ट पारेका छन्।
‘बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ’, शनिबारको सचिवालय बैठकमा राखिएको र प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत् सार्वजनिक गरिएको गौतमको धारणामा भनिएको छ , ‘पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ।’
उनले यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु? भन्दै प्रश्न उठाएका छन्। ‘यति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो। बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न’, उनको भनाइ छ।
गौतमले पार्टी बाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएको बताएका छन्। उनले चाहेमा अब आफूहरुले समस्या समाधान गर्न सक्ने बताएका छन्। ‘किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ। यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ। बैठक बस्न छलफल गर्न सुरु गर्दा साथ पार्टीको पुनर्जीवन सुरु भइहाल्छ’, उनको भनाइ छ।
बैठक वस्ने वातावरण बनाउन मिहेनत गर्नेहरुलाई गौतमले धन्यवाद दिएका छन्।