November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पर्वत कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाइँदै

5K

पर्वत– नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ।

जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन बीपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो। 

नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले बताए। सुविधासम्पन्न भवनमा ५० शय्यासम्म राखेर संक्रमितको उपचार गर्न सकिने उनको भनाइ छ।

Advertisement

पर्वत सदरमुकाम कुश्माबजारमा गत वर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसमा बनाइएको अस्थायी अस्पताल हटाएपछि अहिलेसम्म कोभिड अस्पताल सञ्चालनमा आउन सकेको छैन। 

त्यसैगरी, नेपाली कांग्रेस स्याङ्जाले आइसोलेसन कक्ष बनाउन आवश्यक परेमा पार्टी कार्यालय दिने निर्णय गरेको छ। 

कोभिड–१९ संक्रमणको जोखिम तथा नियन्त्रणका लागि आइसोलेसन वा कोभिड अस्पताल बनाउन पार्टी कार्यालय प्रयोग गर्न दिने निर्णय भएको कांग्रेस कार्यबाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले जानकारी दिए।

स्याङ्जा सदरमुकामस्थित अभियानपथमा रहेको भवनमा स्थानीय, प्रदेश, केन्द्रीय सरकार वा अन्य कुनै पनि गैरनाफामुखी संस्थाले आइसोलेसन कक्षका रूपमा प्रयोग गर्न चाहेमा तत्काल दिने उनले बताए।