म्याग्दी – नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको मंगलवार विहान निधन भएको छ। बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ।
अकस्मात बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौ लगिएको थियो। खड्का शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागि भएका थिए। खड्कालाई मुटु सम्बन्धी समस्या थियो।
उनी म्याग्दी बुहुमुखी क्याम्पस सञ्चालक समितिको पूर्व अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको पुर्व सभापति पनि थिए। चिकित्सक र कानुन व्यवसायी समेत रहेका खड्काले बेनीको प्रकाश माविमा शिक्षण पनि गरेका थिए।