यासोक । पाँचथरको सदरमुकाम फिदिमबाट प्रकाशन हुँदै आएको ‘पब्लिक टाइम्स साप्ताहिक’ पत्रीकाले आइतबार आफ्नो ११ औ बार्षिक उत्सव मनाउदै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । प्रेस काउन्सिलको वर्गीकरण अनुसार “क” बर्गमा परेको साप्ताहिक पत्रीकाले कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ स्थित पिपलबोटेको महेन्द्रोदय माध्यमिक विद्यालयमा बार्षिक उत्सव कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा उक्त विद्यालयका बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गर्नुका साथै पत्रीकालाई निरन्तर माया गर्ने बिज्ञापन दाता तेजेन्द्र चेम्जोङ होसन्नालाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा महेन्द्रोदय माध्यमिक विद्यालयका ६ जना र गुहेश्वरी आधारभूत विद्यालयका २ जना गरि जम्मा ८ जना जेहेन्दार विद्यार्थीहरुलाई कपि कलम र ब्याग वितरण गरिएको थियो ।
महेन्द्रदय माध्यमिक विद्यालयमा अध्ययनरत रुपेश चेम्जोङ, टिकामाया चेम्जोङ, सोनिया सम्बाहाम्फे, मेरिन सम्बाहाम्फे, पवित्रा माझी र फुलकुमारी माझी र गुह्वेस्वरी आधारभूत विद्यालयका तुलसा महरा र सुप्रिका थापालाई शैक्षिक सामग्री दिइएको थियो ।
स्थानीय समाचारहरु सम्प्रेषण गर्दै लोकप्रियता कमाएको यस पत्रीकाले सामाजिक गतिविधिमा समेत उदाहरणीय कार्य गरेको गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए । यस्तै, पत्रीकाले सधैं गाउँपालिकालाई माया गरेर सम्झिनु पर्ने प्रमुख प्रशासकीय अधिकृत देवि तुम्बापोले सो कार्यक्रममा बताएका थिए ।
गुह्वेस्वरी आधारभूत विद्यालयका शिक्षक रुपनारायण चेम्जोङ र महेन्द्रोदय माध्यमिक विद्यालयका प्रधान अध्यापक राजेन्द्र बुढाथोकीले स्कुलमा अध्ययनरत कतिपय विद्यार्थीहरु घरायसी आर्थिक समस्याका कारण धेरै दुखले पढिरहेको बताएका छन् ।
विद्यालयका सिमित स्रोत साधन मात्र हुने भएकोले उनीहरुको दैनिकी अवस्थामा टेवा पुर्याउन नसकिरहेको बेला पब्लिक टाइम्स पत्रीकाले उदाहरणीय सहयोग गरेको उनीहरुले बताए ।
कार्यक्रममा शिक्षा शाखा अधिकृत प्रदीपसिं तामाङ , लेखा शाखा अधिकृत प्रविण राई र शिक्षक गणेश चेम्जोङले पनि पत्रीकाको ११ औ बार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
उक्त पत्रीकाको ग्राहक कुम्मायक गाउँपालिकामा बढी भएको कारण यस बर्ष आफ्नो बार्षिकी कार्यक्रम यो गाउँपालिकामा आयोजना गरिएको उप सम्पादक दिपेन्द्र राइले बताए । कार्यक्रम पब्लिक टाइम्स साप्ताहिक पत्रीकाका सम्पादक तथा प्रकाशक गणेश साम्पाङ राइको अध्यक्षतामा सम्पन्न भएको थियो ।