April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कुम्मायक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बितरण सम्पन्न

पदम सुखी सम्बाहाम्फे
२०८० श्रावण २१

2.7K

पाँचथर । जिल्लाको दक्षिणी भेकमा अवस्थित कुम्मायक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको कार्यलयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शाखा कार्यलय कुम्मायकसँग समन्वय गरी आ.व. २०७९/०८० को चौथौ त्रैमासिक सामाजिक सुरक्षा भत्ता १ हजार ६ सय १७ जना लाभग्राहीलाई बितरण गरिएको जनाइएको छ ।

बैंकसम्म आउन नसक्ने लाभग्राहीहरुलाई लक्षित गरी वडा–वडामा गएर बैङ्किङ प्रणालीद्वारा वडा नम्बर १ मा ४ सय ६ जना, वडा नम्बर २ मा ३ सय ५० जना, वडा नम्बर ३ मा २ सय ८१ जना त्यस्तैगरी वडा नम्बर ४ मा २ सय ५५ जना र वडा नम्बर ५ मा ३ सय २५ जनालाई भत्ता बितरण गरिएको छ ।

गाउँपालिकामा ६८ बर्ष माथिका ज्येष्ठ नागरिकको सङ्ख्या १ हजार ५१ रहेका छन् भने ज्येष्ठ नागरिक दलितको सङ्ख्या ६३ ज्येष्ठ नागरिक एकल महिला १ सय १८ त्यसैगरी विधवा महिलाको सङ्ख्या १ सय ४६ जना, पूर्ण शारीरिक अशक्तता भएका ४९ र अति अशक्त ७७ जना, ५ बर्ष मुनिका दलित बालबालिकाको सङ्ख्या १ सय १३ जनाले उक्त सेवा सुविधा प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।

Advertisement

आ.ब. २०७९/०८० को पहिलो, दोस्रो, तेस्रो र चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता शीर्षकमा कुल रकम ६ करोड ३६ लाख ५८ हजार १ सय ९३ पैसा बितरण भएको बताइएको छ । यसपटक आर्थिक बर्षको अन्तिम चरण वडावडामा गई बैङ्किङ प्रणालीबाट बितरण भएको सामाजिक सुरक्षा भत्ताको कुल रकम १ करोड ६३ लाख ३५ हजार ९ सय ५ रुपैयाँ रहेको छ ।

त्रैमासिक रूपमा बैंकमार्फत वडावडामा सामाजिक सुरक्षा भत्ता बितरण हुन थालेपछि रकम हिनामिना तथा चुहावट नियन्त्रण र सम्बन्धित लाभग्राहीले नै भत्ता पाउने भएपछि यो सेवा सुविधाको प्रसंशा चौतर्फी बढेको छ । राज्यबाट आएको यस सेवा सुविधा आफ्नै हातमा प्राप्त हुन थालेपछि ९२ बर्षीया बुद्धमति चेम्जोङ खुशी छन् । आफ्नो परिवारले स्याहारसुसार नगरेता पनि अपहेलित अवस्थामा जिउन बाध्य हुँदा आफू बाँचुन्जेलसम्म यो सामाजिक सुरक्षा भत्ताको सेवा सुबिधाले अति नै राहत पुगेको मनरानी सम्बाहाम्फे बताउछिन् । ७४ बर्षीय लक्षमीप्रसाद सम्बाहाम्फेले पनि आफू बाचुन्जेल सामाजिक सुरक्षा भत्ता पाए जीवन जिउन सरल हुने बताए ।

सामाजिक सुरक्षा लाभग्राहीहरुको मृत्यु तथा बसाई सरेर जानुपर्ने अवस्था भएमा आफ्नो बिवरण अध्यावधिक तथा शुद्धिकरण गरी वास्तविक विवरण पेस गर्न गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती उपाध्यक्ष महेन्द्रबहादुर खड्का प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले सम्बन्धित वडा कार्यलयमा जान अनुरोध गरेका छन् । यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष देवेन्द्र लावती, वडा नम्बर २ का बालकृष्ण शेर्मा वडा नम्बर ३ का बाबुराम कार्की वडा नम्बर ४ का वडा अध्यक्ष फगेन्द्र सम्बाहाम्फे र वडा नम्बर ५ का निर्मलराज घिमिरेले पनि आफ्नो समस्या वडा कार्यलयमा ल्याउन लाभग्राहीहरुलाई आग्रह गरेका छन् । भई परी आउने हरेक समस्यामा वडाले सधै साथ सहयोग दिने उनीहरुको भनाइ छ ।