पाँचथर । असार २ गते रातिको अविरल वर्षा सँगैको बाढीपहिरोले पाँचथरको फालेलुङ गाँउपालिकामा करोडौको क्षति भएको छ । भौतिक संरचना, कृषियोग्य जमिन र कृषिजन्य उत्पादन सहित पशुपालक किसानलाई ठूलो क्षति भएको हो ।
बाढीपहिरोले २१ करोड ३७ लाख ८५ हजार बराबरको क्षति भएको क्षति अनुगमन समितिका संयोजक रणजित आङ्बुहाङले जानकारी दिए ।
हेंवा खोलामा आएको बाढीले सात करोड बराबरको दुई ओटा पक्की पुल भत्काएको छ । थप अर्को पक्की पुलमा आंशिक क्षति हुँदा मर्मतका लागि दुई करोड आवश्यक पर्ने प्राविधिकले जनाएका छन् । चार वटा झोलुङ्गे पुल भत्किएका छन् । जसमध्ये ६० लाख लागतको एउटा पुल पूर्ण रुपमा भत्किएको हो । थप तीन वटा पुल आंशिक रुपमा भत्कदा ७५ लाख क्षति भएको हो ।
सिंचाईका लागि निर्माण गरिएका आठ वटा कुलो भत्कदा तीन करोडको क्षति भएको छ । एउटा खानेपानी आयोजना पहिरोले बगाउँदा ७५ लाख १० हजार र तीन किलोमिटर बाटो भत्कदा ४५ लाखको क्षति भएको अनुमान छ ।
त्यस्तै चार करोड बराबरको आठ वटा कजवे पहिरोले बगाएको हो । आठ सय रोपनी खेती सहितको जमिन बाढीपहिरोले खण्डहर बनाउँदा एक करोड ६० लाखको क्षति भएको हो । ४० किलोवाट क्षमताका तीन वटा लघू जलबिद्युत् पहिरोले बगाँउदा ३० लाखको क्षति भएको हो । पहिरोले तीन वटा बिद्यालय १० लाख बराबरको क्षति पुर्याएको छ ।
बाढीपहिरोमा परी सयौँको संख्यामा पशु चौपाय मरेका छन् । जसका कारण किसानलाई १७ लाख ७५ हजार बराबरको नोक्सान भएको हो । पहिरोले पाँच घर पूर्ण रुपमा भत्काउँदा १५ लाख र आंशिक रुपमा भत्किएका ३० घरमा ३० लाख बराबरको क्षति भएको हो ।
‘हाम्रो पालिकामा बिगतमा पनि बाढी पहिरोले क्षति गरेको थियो,’ गाँउपालिका अध्यक्ष बिरबिक्रम थाम्सुहाङले भने ‘तर, यस पटक सारै धेरै भौतिक संरचनामा क्षति पुगेको बताए ।