April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

पत्रकार रवि लामिछानेले गाेप्यमा किन भेटे पुर्व युवराज पारस शाहलाई ?

3.4K

काठमाडौँ – तेह्र वर्ष अगाडि राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि नागरिक भएका ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाह बेला मौकामा चर्चामा आइरहन्छन् । पारस शाह त कहिले बैंककमा कन्निका नामक युवतीसँगको रोमान्सका कारण चर्चामा आएका थिए भने पछि तिनै युवतीबाट छुटकारा पाउन उनलाई हम्मेहम्मे परेको समाचार पनि आयो ।
 
पछिल्ला दिनमा पोखरामा सोनिका रोकाय नामक युवतीसँग उनको अफेयर पनि निकै भाइरल  बन्यो । नाै, दस महिना अघिदेखि सोनिकासँगको अफेयरपछि पारस बेलाबेलामा पोखरा गइरहन्छन् । हिन्दूराज्यसहितको राजा राख्नुपर्ने परिकल्पनाकार कमल थापाहरु समेत पारसका यस्ता अस्वभाविक र समाजका लागि अपाच्य  गतिविधि र हुलिया देखेर वाक्कदिक्क हुने गरेका छन् । 

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजावादीहरु भनिने विभिन्न समूहहरू यसलाई स्वर्ण मौकाका रुपमा उपयोग गर्दै हिन्दूराज्य  र राजा फर्काउने दिवा सपना बाेकेर सडक तताइरहेका छन् । 

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाह पनि पछिल्ला दिनमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गणतन्त्र धरापमा परेकाले पुनः सिंहासन प्राप्त हुन्छ कि भन्ने आशामा सुषुप्त गतिविधि गरिरहेका छन् । पारस शाहले केही हप्ता  अगाडि पोखरामा चर्चित पत्रकार रवि लामिछानेलगायतसँग भेटवार्ता गरेका छन् ।
 
पोखराको वैदाम लेकसाइडस्थित एक रेस्टुरेन्टमा भएको उक्त भेट वार्तामा के कुराकानी भए भन्ने कुरा चाहिं थाहा हुन सकेको छैन । तर उक्त रेस्टुरेन्टको एक हल सुरुमा चर्चित पत्रकार रवि लामिछानेको टोलीबाट बुक भएको थियो । त्यसको केही बेरपछि उक्त रेस्टुरेन्टमा सोही हल पारस शाहका सुरक्षाकर्मीले मागेपछि सञ्चालक अप्ठेरोमा परे । उनले पत्रकार रवि लामिछानेलाई त्यो हल दिइसकेकाले दिन असमर्थता जनाए । पारस शाहका सुरक्षाकर्मीले रवि लामिछानेसँग नै भेट गर्ने कार्यक्रम रहेको भनेपछि रेस्टुरेन्ट सञ्चालक पारस शाहको टोलीको सम्भावित त्रासबाट मुक्त भए । 

Advertisement

 ‘सीधा कुरा जनता’सँग चलाएर चर्चाकाे शिखरमा पुगेका युवा पत्रकार लामिछानेले पहिले नै उक्त हल बुक गरेको जानकारी गराए । श्राेतका अनुसार, साँझपख पारस शाह र रवि लामिछाने बिच करिब १ घण्टा वान टु वान वार्ता भएको थियो । तर पत्रकार रवि लामिछानेले सुरुमा पारस शाहसँग पोखरामा भेट भएको कुरा स्वीकार्न मानेनन् । पछि रेस्टुरेन्टमा भेट भएको हो तर वान टु वान वार्ता भएको होइन भन्ने दावी गरे । 

 ”पारससँग भेट हुँदा १०/१२ जना व्यक्तिसँगै रहेको” रविले बताए । योजनावद्ध रुपमा पारससँग भेटेको कुरा उनले ठाडै अस्वीकार गरे । उनले भने, ‘पारससँग संयोगवश भेट भएको हो । जो कसैसँग पनि भेट हुनु ठूलो कुरा होइन ।’ तर  श्राेत भन्छ, योजनावद्ध रुपमा पारस शाहले रविलाई भेटेका हुन । 

  पत्रकार रवि लामिछाने न्यूज २४ टिभीको चर्चित कार्यक्रम सीधा कुरा जनतासँगबाट अलग भएपछि विभिन्न जिल्लाका भ्रमणमा व्यस्त छन् । यसै सन्दर्भमा उनी २०७७ माघको दोस्रो हप्ता पोखरा पुगेका थिए । पारस पनि पोखरामै भएको बेला उनीहरु बिच भेटघाट भएको सुरक्षा श्रोत बताउछ ।
 
स्मरण रहाेस् रविका ससुरा उद्धव पाैडेल  चाहिं कट्टर राजावादी र राप्रपाका नेता हुन् । उद्धव पाैडेल  ओंम अस्पतालका अध्यक्ष तथा चलचित्र व्यवसायी पनि  हुन् । उद्धव पाैडेल कै कारण पनि मानिसहरूमा  रवि लामिछाने र राजपरिवार बिच कुनै खिचडी पाक्दैछ कि भन्ने आशंका उत्पन्न भएकाे हाे । न्यूज २४ टिभीको चर्चित कार्यक्रम सीधा कुरा जनतासँगबाट अलग भएपछि रवि लामिछाने नयाँ टिभी नै सञ्चालन गर्ने तयारीमा रहेको बताइन्छ । 

 पाेखरामै पारस शाहसहितको सुरक्षाकर्मीको टोली मोडिफाई गरी चर्काे आवाज निकाल्ने मोटरसाइकल चलाएपछि फेवातालमा प्रहरीको चेकिङमा परेको थियो । चेकिङका लागि रोकेपछि पारस शाहका सुरक्षाकर्मीले प्रहरीलाई दुर्व्यवहार गरी फेवातालमा टाउको नै चोभ्न खोजेका थिए । युवराजबाट १३ वर्ष अघि पदच्यूत भएका पारस शाहले अहिले पनि पुरानै गुण्डा शैलीमा सेनाका सुरक्षाकर्मीका साथमा प्रहरीमाथि दुर्व्यवहार गर्दै आएकाे  गुनासाे सुनिने गरेकाे छ ।साँघु साप्ताहिक