काठमाडौं । भ्रष्टाचारको विरुद्धमा जेन्जी पुस्ताले गरेको आन्दोलन पश्चात हुन गइरहेको यो निर्वाचन महत्वपूर्ण रहेको बागेश्वरी असन शासन क्लव (बास नेपाल)ले भनेको छ ।
संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय रहेको र देशलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक नेतृत्व नैं योग्य र सक्षम हुनुपर्ने जनाएको छ ।
बास नेपालले निर्वाचन पूर्व, निर्वाचनको समय (मतदाता र मतगणनाको चरण) र निर्वाचन परिणाम पश्चात मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न, भयरहित वातावरणमा स्वतन्त्र तवरले मतदान गर्ने व्यवस्था मिलाउन सरकारलाई आह्वान गरेको छ । त्यसैगरी निर्वाचनलाई, स्वच्छ, निष्पक्ष र विश्वस्निय रुपमा संचालन र सम्पन्न गराउन, अनियन्त्रित रुपमा हुनसक्ने निर्वाचन खर्च, तडक भडक, एआई तथा सूचना प्रविधिको माध्यमबाट सामाजिक संजालहरुको अवान्छित प्रयोग लगायत जारी गरिएको निर्वाचन आचार संहिताको उल्लघन हुन नदिन र भएमा कानुन वमोजिम सख्त कार्वाही गर्न निर्वाचन आयोगसँग जोडदार माग पनि गरेको छ ।
मतदातालाई उपयुक्त र योग्य उम्मेदवारलाई आफ्नो मत प्रदान गर्ने अवसर दिन, निर्वाचन आचार–संहिता अनुकूल सभ्य र शिष्ट प्रचार–प्रसारको शैली अवलम्बन गर्न, डिजिटल वा अन्य माध्यमबाट आफ्नो चुनावी फाइदाको लागि झुटा आस्वासन सहित प्रचार नगर्न र नगराउन राजनीतिक दलहरुलाई अनुरोध गरेको छ ।
निर्वाचनको प्रचार प्रसारमा गरिने अपारदर्शी र अत्यधिक खर्च तथा आर्थिक लेनदेन भ्रष्टाचारको मूलकारण मध्येको एक भएकोले तोकिएको सिमा भित्र रही पारदर्शिरुपमा खर्च गर्न, मतदान, मतगणना र परिणाम घोषणापछि सभ्य र जिम्मेवारीपूर्ण व्यवहार गर्न गराउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।
निर्वाचनमा विभिन्न दलहरूबाट वा स्वतन्त्र रुपमा भाग लिने उम्मेदवारहरूले प्रचार प्रसार, मतदान पूर्व, मतदानको समय, मतगणनाको समय र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च आचरण र शिष्टताको प्रस्तुती गर्नुका साथै मतदातामा डर, त्रास, भ्रम वा लोभ–लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार–संहिताअनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन पनि बास नेपालले अनुरोध गरेको छ ।