हरेक वर्षको फागुन १५ गते मगर समुदायले मगर दिवस मनाउने गर्दछन् । यस पर्वलाई मगर समुदायले आफ्नै मौलिक तरिकाले मनाउने तयारी गरेका छन् । यससँगै नेपाल मगर सङ्घ अहिले १३औँ महाधिवेशनको पूर्वतयारीमा जुटेको छ ।
नेपाल मगर सङ्घको केन्द्रीय समिति मातहतमा अहिले सातै प्रदेशमा प्रदेश समितिहरू, ७७ मध्ये ६८ जिल्लामा जिल्ला समिति र ७५३ मध्ये अधिकांश स्थानीय तहमा समितिहरू गठन भइसकेका छन् । वडा तथा एकाइ समितिहरूलाई समेत क्रियाशील बनाएर सबैलाई एकीकृत बनाउने अभ्यासमा वर्तमान नेतृत्व लागेको छ ।
२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल मगर सङ्घको स्थापना भएको थियो । सोही दिनको सम्झनामा देश–विदेशमा रहेका मगरहरूले हर्षोल्लासका साथ मगर दिवस मनाउँछन् । मगर दिवसले आपसी सम्बन्ध, हार्दिकता र एकतालाई मजबुत बनाउँदै गुमेको राजनीतिक अधिकार र मगरात भूमि पुनःस्थापनाका लागि ऊर्जा दिने मगर अगुवाहरू बताउँछन् ।
२०६८ सालको जनगणनाअनुसार नेपालमा मगरको जनसङ्ख्या १९ लाख भए पनि सङ्घले यो सङ्ख्या करिब ३० लाख रहेको दाबी गर्दै आएको छ । फागुन १५ मा सार्वजनिक बिदा दिनुपर्ने र प्रथम सहिद लखन थापा मगरलाई ‘राष्ट्रिय विभूति’ घोषणा गरिनुपर्ने माग सङ्घले निरन्तर उठाउँदै आएको छ । मगर नेता दलबहादुर वीरकट्टाका अनुसार मगरहरूले आफ्ना थरहरू स्पष्ट नखुलाउँदा वास्तविक तथ्याङ्क आउन सकेको छैन ।