काठमाडौं । कांग्रेसका सभापति गगन थापाले मधेशलाई बुझ्न नसक्नेले देशको नेतृत्व गर्न नसक्ने बताएका छन् । मंगलबार मिर्चैयामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मधेषको हुन आएको बताएका हुन् ।
सभापति थापाले भने, ‘मलाई पहाडको दुःख थाहा छ, काठमाडौंको सुख पनि थाहा छ तर मधेशलाई नबुझ्नेले देश बनाउन सक्दैन, मधेशको पीडा नबुझी देशको नेतृत्व गर्न सकिँदैन । त्यसैले म मधेशबाट चुनाव लडेको हुँ, म मधेशमा डुब्न आएको हुँ, यहाँको हुन आएको हुँ ।’
सभापति थापाले नवयुवा पुस्ताले गरेको आन्दोलनबारे एकथरी नेताहरूले नकारात्मक टिप्पणी गरिरहेको र अर्कोथरीले आक्रोशित नागरिकलाई झन् उचालेर फाइदा लिन खोजेको भन्दै यसरी देश नबन्ने बताए ।
उनले भने, ‘एकथरीले आफ्नो कमजोरी स्वीकार नगरिकन आन्दोलन प्रायोजित हो भनिरहेका छन्, अर्कोथरिले आक्रोशित भिडलाई झन् उक्साएर प्रधानमन्त्री हुने वेला यही हो भनेर लागेका छन् । तर, हामी त्यसो भन्दैनौं, हामी गल्ती र कमजोरीको जिम्मा लिन्छौं र आन्दोलनले मागेको कुरा देशको नेतृत्व गरेर पूरा गर्छौं ।’
सम्बोधनका क्रममा सभापति कांग्रेस केवल राजनीतिक दल मात्र नभइ संकटको सारथी भएको दाबी गरे । ‘हामी नयाँ सोच र सङ्कल्पका साथ आएका छौँ,’ सभापति थापाले भने, ‘कुनै उत्तेजना, झगडा वा घृणा नफैलाई सबैलाई मिलाएर लैजाने र देश सुधार्ने सामथ्र्य कांग्रेससँग मात्र छ ।’ त्यसकारण आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्नसमेत उनले आह्वान गरे ।