सिलगुडी, भारत । तकदाह, दार्जिलिङ निवासी वरिष्ठ साहित्यकार लोक थापा ‘अरुगि साहित्य’ पुरस्कार अर्पण गरिएको छ । सिलगढीको क्याफे–द–ट्वीन्सको सभा कक्षमा सम्पन्न एक समारोहबीच उक्त पुरस्कार प्रदान गरिएको हो ।
अलङ्करण समारोह संस्थाका अध्यक्ष वरिष्ठ साहित्यकार ग्याल्पो लामाको सभापतित्व तथा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका पूर्व अध्यक्ष वर्तमान सल्लाहकार तथा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहबीच वरिष्ठ साहित्यकार कमल भण्डरीको थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने साहित्यकार ग्याल्पो लामाबाट नगद पुरस्कार समर्पण गरिएको थियो । यस्तै, प्रमुख सल्लाहकार सुखबहादुर सुनवार र विशिष्ट अतिथिहरू मिलन रूचाल, प्रा.डा. नरेशचन्द्र खाती, साहित्यकार अशोक रोकाको बाहुलीबाट शीरशोभा, पुष्पहार अनि खादा अर्पण गरेर सम्मान जनाइएको थियो ।
पुरस्कृत थापा सूर्यविक्रम ज्ञवाली, पारशमणि प्रधान, धरणीधर कोइराला, ईश्वर वल्लभ, इन्द्रबहादुर राई, बैरागी काइँला आदिसँग काम गरेका व्यक्तित्व हुन् ।
पुरस्कार ग्रहण गर्दै उनले अरूगिबाट यति ठूलो पुरस्कारले सम्मानित हुन पाएको खुशी भएको बताउदै अरूगि साहित्य संस्थानको कार्यलाई सराहना गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् कवि कमल भण्डारी, प्रमुख सल्लाहकार सुखबहादुर सुनवार, देवकोटा संघका अध्यक्ष मिलन रूचाल, प्रा.डा. नरेशचन्द्र खाती, अशोक रोका, सुष्मा मोक्तान, प्रमिला थापा आदि विशिष्ट अतिथिको रूपमा उपस्थिति थियो ।

त्यसैगरी कृष्ण प्रधान अर्पण, नारद क्षेत्री, श्याम प्रधान, सृजना प्रधान, ललिता क्षेत्री जोशी, मनिका प्रधान, भीम प्रधान, अनिता प्रधान, विनोद धनुके, दिनेश क्षेत्री, श्यामकुमार राई, यस.के. देवान, सिके रामुदामु, शन्देश सुब्बा, रुजुमाया राई, बिनु लिम्बु लभ्ली, अञ्जली लिम्बु, खेम सापकोटा, निरा सुब्बा नेचाली, सरस्वती शेर्पा, लीला जोशी, रोशन ठकुरी आदि अतिथिको रूपमा उपस्थित थिए ।
कार्यक्रममा दिवङ्गत साहित्यकारहरू (अच्छा राई रसिक, रूपनारायण सिन्हा र अगमसिंह गिरी), पदमबहादुर सुब्बा, अरुगि साहित्यिक पुरस्कारले सम्मानित वरिष्ठ साहित्यकार उर्मिला घिसिङको आत्म शान्तिको निम्ति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
अरुगिका संस्थापक सदस्य एवम् यस कार्यक्रमका प्रायोजिका कवि सुशीला सुब्बाबाट स्वागत सम्बोधनपछि सभापति ग्याल्पो लामाले अरुगि साहित्य संस्थानको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।
अरूगि साहित्यिक पुरस्कार अलङ्करण समारोह कवि सुशीला सुब्बाद्वारा उनका पिताश्री स्व, पदमबहादुर सुब्बाको पुण्य स्मृतिमा प्रयोजित गरिएको थियो । उक्त समारोहमा उनका पिताश्री स्वर्गीय पदमबहादुर सुब्बाको जीवनी कवि सरोजिनी देवानले प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको पहिलो चरणमा कवि प्रा.डा. नरेशचन्द्र खाती, शोभा राई, सुरेन्द्र लिम्बु परदेशी, सुशीला सुब्बालगायतले कविता सुनाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुरेन्द्र लिम्बु परदेशीले भाषा साहित्यको कुनै देश नहुने बताए । आजको उत्तरआधुनिक युगमा आफ्नो अस्तित्वलाई बचाउन संसारभर छरिएर रहेका नेपाली भाषीहरूले भाषिक एलायन्स गर्नुपर्ने उनले बताए ।
कार्यक्रमलाई सभापति ग्याल्पो लामाले पनि सम्बोधन गरेपछि रचिता छेत्री, विनिता बोस, संजीव श्रीमल आदिले कविता प्रस्तुत गरेका थिए ।




