गुल्मी । पहिरोका कारण गुल्मी जिल्लाका प्रमुख सडकहरू अवरुद्ध भएर सर्वसाधारण आवत–जावतमा समस्या भएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी–२ स्थित राक्सेमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
त्यस्तै, मदन भण्डारी सडक मार्गअन्तर्गत रिडी–तम्घास सडकखण्ड रुरु–३ सल्लेरीमा पहिरो खस्दा आवतजावत ठप्प भएको छ ।
रुद्रवेणी–वामी सडकखण्डमा समेत समस्या देखिएको छ । सत्यवती गाउँपालिका वडानम्बर–४ भिर क्षेत्रमा खसेको पहिरोले बाटो अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सोही सडकखण्डको डहरे खोलाको सडकसमेत बन्द भएको छ ।
डहरे खोलामा पानीको बहाव बढेकाले सवारीसाधन रोकिएका छन् । यो सडक भएर गुल्मी र छिमेकी जिल्ला बागलुङको बुर्तिबाङसम्म सवारीसाधन जाने गर्दछन् ।
ठाउँ–ठाउँमा पुल नहुँदा समस्या हुँदै आएको छ । सडक अवरुद्ध भएपछि अत्यावश्यक सवारीसाधन र सर्वसाधारण यात्रुहरू गन्तव्यमा पुग्न समस्या भएको छ ।
पहिरो हटाउने प्रयास गरिए पनि लगातार वर्षाले काममा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो तीन दिन यता निरन्तर वर्षा भइरहेको छ । वर्षाले जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत सेवासमेत अनियमित हुने गरेको छ ।
तस्बिरः फाइल




