यो पल्ट मेरो वडाबाट स्वर्णिम साहित्य समाजलाई रातो किताबमा अटाउने छु: प्रमुख अतिथि राजदिप लामा
सुनसरी । स्वर्णिम साहित्य सम्मान ÷पुरस्कार अक्षयकोमा ‘स्वर्गीय मनिषा ओख्राबु लिम्बु स्मृति फाउन्डेसन’ले १ लाख १० हजार बराबरको सहयोग रकम हस्तान्तरण गरेको छ ।
बराहक्षेत्र नगरपालिकाको वडा नं. ३ को वडाकार्यलयको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै सो रकम फाउन्डेसनले हस्तान्तरण गरेको हो । सो रकम फाउन्डेसनका प्रतिनिधि समिर राईले हस्तान्तरण गरे भने स्वर्णिम साहित्य समाजले उक्त सहयोग रकम नेपाल प्रज्ञा प्रतिष्ठान, जनप्रतिनिधि तथा समाजका अग्रज र प्रवुद्ध व्यक्तित्वहरूको उपस्थितिमा ग्रहण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र–३ का वडाअध्यक्ष राजदिप लामाले स्वर्णिम साहित्य समाजको सक्रियताले आफू दङ्ग परेको बताउदै यो वर्षबाट वडाको योजनामा स्वर्णिम साहित्य समाजलाई जे जति रकमको हुन्छ, रातो किताबमा अटाएर अघि बढ्ने बताए । उनले थपे “स्वर्णिमले आज बराहक्षेत्रको चिनारीमा ठूलो टेवा दिएको छ, अन्य क्षेत्रभन्दा प्राज्ञिक थलोले दिएको चिनारी फरक हुदोरहेछ। जुन कुरा पछिल्लो समयमा महसुस हुँदैछ । स्वर्णिम साहित्य समाजसँग ३ नम्बर वडा सहकार्य गरेर अघि बढ्ने छ ।”
कार्यक्रमपछि कोरियामा रहेका फाउन्डेसनका संस्थापक नेल्सन याक्थुम्बाले आफ्नो बहिनी र भाइको सम्झनामा स्वर्णिम साहित्य समाजलाई सानो रकम सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । आफ्नो बहिनी र भाइले अल्पायुमै निधन भएको पीडा रहँदैगर्दा स्वर्णिम साहित्य समाजसँग यो सहकार्य गर्न पाउँदा थोरै भए पनि मलम लागेको बताए । स्वर्णिम साहित्य समाजसँग अरु सहकार्य समेत गर्न तयार रहेको बताए ।
सोही कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग सदस्य रामप्रसाद खरेलले स्वर्णिम साहित्य समाजको गतिविधिले आफू प्रफिल्लित भएको बताए । “आज म काठमाडौ जानुपर्ने हो, एकेडेमीको राष्ट्रिय कविता महोत्सवमा पुग्नुपर्ने हो यद्यपि स्वर्णिम साहित्य समाजको निम्तो टार्न सक्दिन र फ्लाइट सारेँ अब भोलि काठमाडौ जान्छु । स्वर्णिमले सबैको बिश्वास जितिसकेको छ र नै मनिषा फाउन्डेसनले स्वर्णिमलाई रोज्यो । नत्र यति ठूलो रकम अन्यत्रै पनि लगानी गर्न सक्नुहुन्थ्यो ।” खरेलले भने ।
कार्यक्रममाथि प्रकाश पार्दै स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली राईले उत्सव, महोत्सवको सानो हिस्सा सामाजिक सेवामा खर्च गर्न सबैमा अनुरोध गरे । उनले भने “यही स–साना हिस्साहरू जम्मा हुने क्रममा नै स्वर्णिम साहित्य समाज यो खुड्किलोसम्म आइपुगेका छ र बराहक्षेत्रको साहित्याकास समृद्ध बनेको छ । यहाँहरूको यो प्रेम सदा रहिरहोस् । यही अथाह प्रेमले हामी अघि बढ्न सकुँ ।”

कार्यक्रममा शिक्षासेवी देवेन्द्र विष्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभाग सदस्य हेनसेन याख्खा लगायतले धारणा राखेका थिए । समाजका सचिव लक्ष्मण कटुवालले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सहसचिव सविता फागोले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमका सभाध्यक्ष समाजका कोषाध्यक्ष एवम अक्षयकोषका संयोजक शारदा निरौला ’शारु’ रहेकी थिइन् ।
स्व. मनिषा लिम्बुको प्राणघातक रोगका कारण २८ वर्षकै उमेरमा निधन भएको थियो भने नयन लिम्बुको वैदेशिक रोजगारको क्रममा रोमानियामा २५ वर्षको अल्पायुमै ज्यान गुमाएका थिए । उनै दिवङ्गत बहिनी र भाइको सम्झना नेल्सन याक्थुम्बाले ‘स्व. मनिषा ओख्राबु लिम्बु स्मृति फाउण्डेसन’ स्थापना गरी अनेकौं सामाजिक सेवा गर्दै आएको छ । उनका मनिषा साख्खे बहिनी हुन् भने नयन लिम्बु मामाको छोरा हो ।




