काठमाडौँ प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको नवनिर्मित प्रेक्षालय भवन भरिभराउ थियो । हलमा सङ्गीतप्रेमी, सङ्गीतकर्मी, विद्यार्थी, अभिभावक र सञ्चारकर्मी छुट्टै उक्सुकता र व्यग्रताले पुलकित थिए । नेपालको सातै प्रदेशबाट काठमाडौँ आइपुगेका कलाकार प्रस्तुतिको पर्खाइमा थिए । यो् अवसर थियो नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्तिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ ।
उत्सवका प्रमुख साक्षी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अरुणकुमार चौधरी । निर्धारित सयमभन्दा केही ढिला मात्र उपस्थित मन्त्री चौधरीलाई नौमती बजाको घन्काइ सहित प्रज्ञा–प्रतिष्ठानले हलमा प्रवेश गरायो । परम्परागत बाजा दमाहा, नरसिंगा, सनाईं, ट्याम्कोको भव्य धुनलहर सहितको यस्तो मौलिक स्वागत नयाँ पुस्तका शहरवासीलाई पक्कै पनि नौलो लागेर, तालीको गडगाडहट र साइसाइसुइँसुइँले हल गुञ्जयामान भइहाल्यो । आयोजकको उद्देश्य थियो नयाँ पुस्तामा नेपाली मौलिक र परम्परागत संस्कृतिबारे सक्दो ज्ञान र जानकारी पुगोस् । काठमाडौँ उपत्यका र बाहिरका आधा दर्जन विद्यालयका पाँच सय बढी विद्यार्थीको उपस्थिति थियो । सङ्गीत, नाट्य विधाका मूधन्य व्यक्ति, सम्बन्धित सङ्घसंस्थाको जिम्मेवार प्रतिनिधि र सञ्चारकर्मीको बाक्लो उपस्थितिले हल भरिएर उभिनलाई समेत ठाउँ थिएन ।


प्रमुख अतिथि मन्त्रीले २ः३० मा पानसमा बत्ती बालेपछि कार्यक्रमको औपचारिक शुरुवात भयो । तर, यसअघि नै विभिन्न प्रदेशबाट सांस्कृतिक झाँकीसहित आएका कलाकारका भेषभूषा र बाजागाजाले नेपाल पुलिस क्लबको परिसर साङ्गीतिक माहौलमा मस्त भइसकेको थियो ।
उत्सवको संयोजक थिए उपकुलपति शम्भू राई । उनले उत्सवको औचित्यता बारे थोरै शब्दमा गहन कुरा बोले, ‘‘हामी १२४ भन्दा बढी भाषी र १४२ भन्दा बढी जातजाति रहेका छौँ । हामीमा भएको यो विविधतालाई शक्तिको रुपमा हामीले उपयोग गर्न सक्नुपर्छ । त्यसैले यो उत्सवको आयोजना गरेका हौँ ।’’
हाम्रो मुुलुक संस्कृतिले समृद्ध छ । १२४ भन्दा बढी भाषा बोलिन्छ । १४२ भन्दा बढी जातजाति बसोवास गर्छौँ । तर बाह्य सांस्कृतिक उपनिवेश र आन्तररिक सांस्कृतिक दबदबाका कारण हाम्रा कतिपय अल्पसङ्ख्यक जातिभाषीका लोकसंस्कृति लोपोन्मुख अवस्थामा पुगेका छन् । कति लोप भइसकेका छन् । कति संस्कृतिले मौलिकता गुमाएर वर्णशङ्कर स्वरुप ग्रहण गरेका छन् । सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले स्वागत मन्तव्य राख्दै भने, यो ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव’ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको, समावेशी नेपालको, नयाँ नेपालको वास्तविक उत्सव हो ।’


सदस्यसचिव महराले भने जस्तै चार घण्टा लगातार उत्सव चलिरह्यो । पहिलो प्रस्तुति वागमती प्रदेशको थियो, भक्तपुरको भैल प्याखःको भैरव नाच । सयौँ वर्षदेखि भक्तपुरमा प्रचलित यो परम्परागत नाचले दर्शकलाई जिज्ञाशा, रहस्य र मनोरञ्जनको प्राचीन लोकमा पु¥याउने नै भयो । त्यसपछिको पालो थियो कर्णाली प्रदेशबाट झ्याउरे नृत्यको प्रस्तुति । नेपालका गुरुङ समुदायका युवतीद्वारा एकल वा सामूहिक रुपमा प्रस्तुत गरिने यस नाचलाई कर्णाली प्रदेशका पुरुष कलाकारको प्रस्तुतिले अर्कै रौनक दिन सफल भयो ।
उत्सव संयोजक उपकुलपति राईले अल्पसङ्ख्यकका सङ्गीतलाई उत्सवमा प्राथमिकता दिएको बताएजस्तै कोसी प्रदेशमा अल्पसङ्ख्या बसोवास गर्ने आठपहरिया राई जातिका कलाकारले च्याब्रुङ (ढोल) नाच र ‘माखन्डासे…’ गीत प्रस्तुत गरे । आफ्ना इष्टदेव बराह, मार्गा, जिमी मार्गा, सुब्बा मार्गा र फुङाहाङ देवको आराधना गर्दै कहिले सुस्त, कहिले तिब्र, गोलाकार शैलीमा महिला पुरुषले नाचिने यो नाच दर्शकका लागि रोचक रह्यो । त्यसै गरी मङ्सिरे पूर्णिमा गाइने ‘माखण्डा..’ गीतलाई शिशिर आठपहरियाले प्रस्तुत गर्दा यसको भाकाले दर्शकको मन जित्यो ।
कार्यक्रममा सात प्रदेशका पन्ध्र वटा प्रस्तुति रहेको थियो भने अन्तिममा कवि लक्ष्मी मालीको ‘आमा तिम्रो नाम के हो ?’ कवितालाई वीरेन्द्र हमालले नाट्य रुपान्तरण गरी प्रस्तुत गरे । उत्सवमा लुम्बिनी प्रदेशबाट लालमाया बुढा मगरको टोलीले लोकनाट्य शैलीमा प्रस्तुत गरेको डिग्री पैसरी र लस्के नृत्य विशेष रह्यो । डिग्रे पैसरी नाच रुकुम पूर्वका मगर समुदायमा चैते दसैँमा देवी पूजा गर्दा घरघरबाट ध्वजा उठाई नाचिने नाच हो भने लस्के नृत्य रुकुम पूर्व र रोल्पाका मगर समुदायले जन्मदेखि मृत्यु संस्कारसम्मका विषयलाई समेटेर गाउँदै नाचिने नृत्य हो । उत्सवमा अरु खास प्रस्तुति थिए गण्डकी प्रदेशबाट प्रस्तुत झामरे नाच र यानीमाया गीत । मादल, झर्रा र डम्फुको तालमा दसैँको अष्टिमीदेखि माघसम्म झामरे नाच बागलुङ क्षेत्रका मगर समुदायले नाच्ने गर्दछ । त्यसै गरी ‘यानीमाया…’ भाका पनि गण्डक क्षेत्रका मगर, थकाली र छन्त्याल समुदायले परमपरादेखि गाउँदै आएको मौलिक भाका हो । कलाकार यामबहादुर मगरले आफ्नो टोलीले यी दुवै नाच र गीत प्रस्तुत गर्दा अहिलेसम्म रेकर्ड नभएको बागलुङ तारा खोला आसपास भाकालाई उत्सवमा प्रस्तुत गरेको दाबी गरे ।


सुदूर पश्चिम प्रदेशबाट श्री देवभूमि सुदूरपश्चिम बैतडी छलिया दल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रस्तुतिमा छलिया नृत्य र देउडा गीत प्रस्तुत गरियो । सुदूर पश्चिम र कर्णाली प्रदेशमा खस भाषामा गाइने देउडा गीत कलाकार हेमन्ता भट्टराईले प्रस्तुत गरे भने छलिया नृत्यको संयोजन जनक महराले गरेका थिए । मधेस प्रदेशबाट सङ्गीतकर्मी टेकबहादुर बलम्पाकीको संयोजनमा भोजपुरी भाषामा श्रमको भाव झल्कने गीत रञ्जीत कुमार पाण्डे र कुश्मिता दर्लामी मगरले गाउनुभयो भने ‘इ हे हामर जनकपुर..’ बोलको गीतमा सरोजकुमार ठाकुर, सोनहाकुमारी यादव, रोहितकुमार ठाकुर र कोमलकुमारीले दमदार नृत्य प्रस्तुत गरे ।
समय निकै नै बितिसकेको थियो । वागमती प्रदेशबाट काठमाडौँ उपत्यकामा नेवार समुदायले भाद्र महिनामा सडकमा नान्चे घिन्ताङघिसी नृत्य र गाइजात्रामा नाचिने फकन्दली नृत्यको प्रस्तुतिले दर्शकमा मौलिक र जीवन्त भाव पैदा गरिसकेको थियो । उत्सव उत्तराद्र्धमा पुग्दै थियो । मगर समुदाय प्रचलित टप्पा भाका लिएर प्राज्ञ टिका पुन जब मञ्च उक्लिनुभयो, दर्शकदीर्घामा बग्लै उत्साह र स्फूर्ती विस्तार भयो । विद्यार्थी मञ्चमै पुगेर नृत्य गर्न थालिहाले । करिष्मा घर्तीमगर, धनराज चुनारा र प्राज्ञ टिकीको स्वरलहरीमा मञ्चसँगै सिङ्गो हल नै नृत्यमग्न भयो ।


चर घण्टा बढी मौलिक र परम्परागत गीत र नृत्यमा झुमेका दर्शक ‘आमा तिम्रो नाम के हो ?’ कविताको नाट्य मञ्चनले एकाएक गम्भीर बनायो । नाटकमार्फत् वर्र्षाैदेखि पितृसत्ताले पहिचानविहीन बनाएको महिलाको विषयलाई सशक्त उठान गरिएको थियो । कवि लक्ष्मी मालीको कवितालाई निर्देशक वीरेन्द्र हमालले नेवारी संस्कृतिको पृृष्ठभूमिमा नाटकलाई प्रस्तुत गरेका थिए ।
यसरी चार घण्टा बढी चलेको उत्सवलाई प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीले खुलेरै प्रशंसा गरे । उहाँले यो उत्सवले राष्ट्रिय एकता, पहिचान र आत्मगौरवलाई समृद्ध बनाएको भन्दै सराहना गरे । उत्सवमा विद्यार्थी सहभागी गराएर नयाँ पुस्तालाई लोपोन्मुख मौलिक संस्कृति हस्तान्तरण गर्न, आफ्नो जराको खोजी गर्ने, आफ्नो संस्कृतिमा गौरव गर्ने, आफ्नो मौलिक सङ्गीत, नृत्य र नाट्यको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र सर्वाङ्गिण विकास गर्दै व्यवसायिक बाटोतर्फ अग्रसर हुने नयाँ सन्देश दिएको पनि बताए ।
कार्यक्रमका अध्यक्ष कुलपति निशा शर्मा पोखरेलले उत्सवमा सहभागी सम्पूर्णमा धन्यवाद् व्यक्त गर्दै प्रज्ञा–प्रतिष्ठानले यस प्रकारका थुप्रै उत्सव महोत्सवका आयोजना गर्दै आएको स्मरण गराउदै यो उत्सव भोलिका कर्णधार युवा पुस्ता विद्यार्थीको सहभागिताले विशेष हुन पुगेको भन्दै खुसी व्यक्त गरे । विद्यार्थीमार्फत् अभिभावक वर्गमा पनि उत्सवको सन्देश पुग्ने भन्दै आगामी दिनमा पनि यस प्रकारका उत्सवलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रमको अन्त्यमा प्रज्ञा–प्रतिष्ठानको तर्फबाट उत्सवमा प्रस्तुति दिने कलाकार र सहयोगी सङ्घसंस्थालाई मन्त्री चौधरीले प्रमाण पत्र र प्रशंसा पत्र वितरण गरेका थिए । कार्यक्रमलाई हरि पुनले सहजीकरण गरेका थिए ।






