March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त राज्य बेलायत प्रस्थान

२०८१ कार्तिक १८

750

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायततर्फ प्रस्थान गरेका हुन् ।

नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

Advertisement

इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ ।

उक्त महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (आइडब्लु ओ) तथा निजी संस्थाहरू बीचको सहकार्य, डिजिटल इभिडेन्समा कानूनी पहुँच, इन्टरपोलको संविधान संशोधनको लागि विभिन्न देशहरूबाट पेश गरिएका प्रतिवेदनहरू, एनुअल फाइनान्सियल रिपोर्ट एण्ड फाइनान्सियल स्टेटमेन्ट्स २०२३, प्रोग्राम अफ एक्टिभिटिज् एण्ड ड्राफ्ट बजेट फर २०२५, इन्डिकेशन फर २०२६ एण्ड २०२७, इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल तथा महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत हुने कार्यक्रम रहेको छ ।

साथै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा सहभागि हुने प्रतिनिधी मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।