April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

बाल यौन दुरूपयोग मुद्दामा बम्जनले पाए सफाइ

465

काठमाडौं । आफूलाई भिक्षु बताउने रामबहादुर बम्जनले बाल यौन दुरूपयोग मुद्दामा उच्च अदालत जनकपुरबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै उनलाई सफाइ दिने फैसला गरेको हो ।

उक्त फैसलाको पूर्णपाठसमेत सार्वजनिक भइसकेको छ । न्यायाधीशद्वय भट्ट र भण्डारीको इजलासले गत चैत ६ गते नै रामबहादुरसँगै ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै बम्जन सिन्धुपाल्चोक कारागारबाट छुटिसकेका छन् ।

सिन्धुपाल्चोकस्तिथ बम्जनको आश्रममा बस्दा आफूलाई बलात्कार गरेको भन्दै रौतहटकी गंगामाया तामाङले बमजनविरूद्ध २०७६ असोज २३ गते जाहेरी दिएकी थिइन् ।

Advertisement

आफू बालिका हुँदा भएको यौनशोषण तथा बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइने कानुनी व्यवस्था गंगामायाले १८ वर्ष पुगेपछि जाहेरी दिएकी थिइन् ।

बमजनले २०७३ साल साउन २० गते आफूमाथि बलात्कार गरेको उनको आरोप थियो। उक्त जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिव क्षतिपूर्तिको माग र बाँकी दुई जनालाई पनि कैद सजाय तोकिनुपर्ने माग गरेको थियो।

जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना तोकेको थियो भने डिगबहादुर र ज्ञानबहादुरलाई सफाइ दिएको थियो।

सरकारी वकिल कार्यालयले जिल्ला अदालतको फैसलामा चित्त नबुझाइ मागदाबी अनुसारकै तीनै जनालाई कैद र जरिवानाको माग गर्दै उच्च अदालत गएको थियो। बम्जनले पनि आफूलाई सफाइ दिन माग गर्दै उच्च अदालतमा रिट दिएका थिए।