काठमाण्डौं । पशुपति क्षेत्र विकास कोषमा अस्थायी करार र ज्यालादारीमा कार्यरत एक सय वढी श्रमिकहरूले आफूहरूले खाइपाइआएको तलबभत्ता दशैँ अघि नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कोषमा कार्यरत स्थायी र मन्त्रालयबाट साउन १ गते पछि सिधै नियुक्ति भएका कर्मचारी बाहेकका वर्षौ देखि कार्यरत अस्थायी , करार तथा ज्यालादासरीमा कार्यरत एक सय बढी श्रमिकको ८१ साउन देखि तलब भत्ता रोकेको भन्दै अस्थायी कर्मचारीहरूले श्रमिकलाई कोषले आर्थिक नाकाबन्दी गरेको आरोप समेत लगाएका छन् ।
चालु आर्थिक वर्ष लागेसँगै तल्लो तहका एक सयभन्दा बढी कर्मचारीले तलब नपाएका हुन् । तर, माथिल्लो तह र प्रशासनमा काम गर्ने कर्मचारीले भने तलब खाइरहेको सुचना आफहरुलाई आएको एकृत ट्रेड युनियनका सचिव रवि केसीले जानकारी दिए ।
दशैं अघि आफूले खाइपाइआएको तलव भत्ता नपाए मजदुरहरूले यही असोज १८ गते शुक्रबार बिहान ११ बजे सम्म तलब भत्ता नदिए शुक्रबार मध्याह्न १२ बजेदेखि कोषमा आन्दोलन सुरु गर्ने बताएका छन् ।
मजदुर नेता रवि केसी पशुपतिका अस्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीको तलब भत्ता रोकेर कोषले कर्मचारीप्रति श्रमशोषण गरेको भन्दै उनीहरूको आन्दोलनमा आफूहरूको पनि ऐक्यवद्धता रहने बताए । नेता केसीले कोषले पटकपटक यसरी अस्थायी करार र ज्यालादारीका कर्मचारी प्रति गरेको व्यवहार प्रति दुख प्रकट गरे ।
साउनदेखि तलब नपाउँदा आफूहरु निकै ठूलो संकटमा परेको एक कर्मचारीले बताए । उनले भने, “दशैँ पनि भित्रियो पारिश्रमिक नआउने हो कि भन्ने चिन्ताले सताएको छ।”
गत साउनदेखि नै सुरक्षाकर्मीदेखि सरसफाइमा काम गर्ने एक सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन् । तर साउन १ गतेबाट हाजिर भएका अधिकृत तहका कर्मचारीले भने पारिश्रमिक पाइरहेको उनको दाबी छ ।
तलब माग्दा परिषद् बैठकले निर्णय नगरेको र बैठकमै पारिश्रमिक निकासाका लागि एजेन्डा नै नउठेको भन्दै माथिल्लो तहका कर्मचारीले तत्लो तहका कर्मचारीलाई टार्दै आएको आफूलाई गुनासो आएको एकीकृत ट्रेड युनियनका सचिव रवि केसीले बताए । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक बसेर उनीहरुलाई तलब निकासा गर्नुपर्नेमा कोषले बेवास्ता गर्दै आएको उनले आरोप लगाए ।
‘एक दुई दिनमै परिषद् बैठक बसेर उहाँहरुको तलब दिन्छौँ,’ कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भनेका छन् ।
काम गरेपछि तलब नदिने भन्ने कुरै भएन उनले दशैँअघि नै सबै कर्मचारीले तलब पाउने बताएका छन् ।