काठमाडौं । गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन तथा ओसारपसार अन्तर्राष्ट्रिय अपराधको रूपमा फैलिएको र यसको दुष्प्रभाव निश्चित देश समाजमा मात्र सीमित नभएको हुँदा यसविरूद्ध शून्य सहनशीलता अपनाई निर्मम भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको आयोजना तथा अनाहत नेपाल, युएनडिओसी र सोसाइटी फर इन्टरग्रेटेड अलाइग्नेट नेपालको सहकार्यमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा मानव बेचबिखन ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।
गृहमन्त्री रमेश लेखकले सीमित स्रोत साधनको वावजूद पनि मानव बेचबिखन
अनुसन्धान ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको लडाइँमा प्रहरी मात्र नभएर सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय तह, शिक्षक, संचारकर्मी लगायतको सहकार्य जरूरी रहेको उनले बताए ।
चेतनाको कमीले यस्ता अपराध बढ्ने हुँदा सरोकारवाला निकायहरूले आपसी समन्वय गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले वर्तमान अवस्थामा मानव बेचबिखन तथा ओसारपसार चुनौतिपूर्ण रहेको उल्लेख गर्दै यसको न्यूनीकरण एवम् रोकथामको लागि सबै सरोकारवाला निकायहरू सचेत भएर आपसी सहयोग एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताए । मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवम् रोकथामको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको प्रयासको प्रशंसा गर्दै ब्यूरोको लक्ष्य प्रति गृहमन्त्रालय सदैव सहयोग र समन्वय गर्न प्रतिवद्ध रहेको उनले बताए ।
गृह सचिव अर्यालले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवम् रोकथामको लागि ब्यूरोले संचालन गरेको विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा अपराधमा फस्न सक्ने तथा अपराधबाट पीडित हुन सक्ने क्षेत्र एवम् समुदाय नजिक पुगेर अझ प्रभावकारी रूपमा संचालन गर्नुपर्ने उल्लेख गरे । साथै संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याई पीडितलाई अनुभूति हुने गरी न्याय सम्पादन गर्न ब्यूरो अझ सक्रिय भई कार्य गर्ने विश्वास लिएको उनले बताए ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी सीमित साधन स्रोतका वावजूद पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण एवम् रोकथामको लागि सदैव क्रियाशील रहेको बताए । मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी चुनौतिको रूपमा देखिएको उल्लेख गर्दै यसको नियन्त्रण, न्यूनीकरण र रोकथामको लागि सम्पूर्ण सरोकारवाला निकाय, विभिन्न संघसंस्था लगायतको संयुक्त समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गरे ।