November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह

1.8K

काठमाडौं । नेकपा माओवादी केन्द्रले गर्मी र सुख्खापन बढेसँगै प्रभावित क्षेत्रका सर्वसाधारणको राहत र उद्धारमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । 

सोमबार पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको र हजारौँ नागरिक पीडित हुन पुगेको बताएका छन्। 

विज्ञप्तिमा भनिएको छ, “देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च वृद्धिका कारण विशेष गरी तराईका जिल्लाहरूमा तातो हावा र लुको लहरले जनजीवन प्रभावित बनेको छ । हाम्रो पार्टी एवं भातृ सङ्गठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन हार्दिक आह्वान गर्दछौँ ।’

Advertisement

माओवादीले चुनौतीपूर्ण यस घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

‘विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्व तयारी लाई चुस्त बनाउन पालिकाहरूलाई अपिल गर्दछौँ’, माओवादी केन्द्रले भनेको छ, ‘यी र यस्ता विपद्का जोखिमहरू कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकावासीलाई जनचेतनाका कार्यक्रममार्फत घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गर्दछौँ ।’

त्यसैगरी माओवादीले विपद्जन्य अवस्थामा गर्नुपर्ने उद्धार तथा राहतका लागि पालिकाहरूलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न प्रदेश तथा सङ्घीय सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।