May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

२०८१ बाट पुरस्कार तथा सम्मान प्रदान गर्दै स्वर्णिम साहित्य समाज

775

पहिलो स्वर्णिम साहित्य पुरस्कार लेखक रामकुमार तिवारी र सम्मान रुद्रबहादुर दाहाललाई

धरान । स्वर्णिम साहित्य समाज बराहक्षेत्र–३, ले आफ्नो स्थापना दिवस तथा नयाँ वर्षको शुभकामनासहित स्वर्णिम साहित्य पुरस्कार तथा स्वर्णिम साहित्य सम्मान अर्पण गर्ने भएको छ । सोमबार एक पत्रकार सम्मेलन गर्दै समाजले सो जानकारी दिएको हो ।

समाजले यो वर्ष (२०८१)को ‘स्वर्णिम साहित्य पुरस्कार’ लेखक तथा हस्तकलाकार रामकुमार तिवारी र ‘स्वर्णिम साहित्य सम्मान’ साहित्य प्रवर्धक रुद्रबहादुर दाहाललाई प्रदान गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा पुरस्कार र सम्मानबारे स्वर्णिम साहित्य समाजका अध्यक्ष एवम् पुरस्कार÷सम्मान समितिका प्रवक्ता प्रकाश दिप्साली राईले प्रष्ट पार्दै भने, ‘लेखक रामकुमार तिवारीले आफ्नो लेखनमार्फत समाजलाई संघर्षबाट नथाकी अघि बढे सफल र सार्थक जीवन बिताउन सकिन्छ भन्ने सन्देश दिएकोले उनलाई सम्मान गर्न लागिएको हो । अहिले पनि उनी लेखन र हस्तकलामा निरन्तर समर्पित छन् ।’

Advertisement

फरक क्षमताका लेखक रामकुमार तिवारीको ‘संघर्षका पाइलाहरु…’ आत्म संस्मरण कृति प्रकाशित छ । जो असाध्यै लोकप्रिय बनेको कृति हो । यस्तै सम्मानका सम्बन्धमा दिप्सालीले थपे, ‘स्वर्णिम साहित्य सम्मानबाट बराहक्षेत्रको साहित्य सिर्जनाका प्रवर्धक रुद्र दाहाललाई सम्मान गर्दैछौं । बराहक्षेत्रको साहित्य प्रर्वधनमा उहाँले ठूलो टेवा दिनुभएको छ । आज बराहक्षेत्र नगरपालिकाका प्रायः वडाहरुमा कला साहित्यमा बजेट बिनियोजन हुने गरेको छ, जसको श्रेय वहाँलाई जान्छ । वडाबाट साहित्यको शीर्षक तोकेरै बजेट बिनियोजनको सुरुवात गर्ने जनप्रतिनिधि वहाँ नै हो । त्यति मात्र हैन आज पनि वहाँले साहित्यिक कार्यक्रमको आयोजना गर्न सदा प्रेरित गर्नुहुन्छ, सकेको साथ दिनुहुन्छ । हामी कलमकर्मीहरुको निम्ति योभन्दा ठूलो साथ सहयोग अरु के हुन सक्ला र ? यसैले हामी वहाँलाई सम्मान गर्न लागेका हौँ ।’

प्रवक्ता दिप्सालीले आफूहरू हरेक कार्यक्रम आयोजना गर्दैगर्दा हरेक पक्षलाई सोचेर धेरै सचेत भएर काम गर्ने बताए ।